मुलुकलाई सही दिशामा लैजान पत्रकारिता क्षेत्रको प्रमुख कर्तव्य रहेको छः राष्ट्रपति भण्डारी

७ आश्विन २०७५, आईतवार ०८:५७

 

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी छिन्।

 

प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई शनिबार राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उनले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताइन्।

उनले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत समाचार तथा सूचना सम्प्रेषण हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गरिन्। ऐतिहासिक राजनीतिक परिवर्तनपछि मुलुक अहिले आर्थिक समृद्धितर्फ केन्द्रित रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक मतभेद अन्त्य भएको अवस्थामा आर्थिक विकास र जनताको जीवनस्तरको सुधार नै आजको प्रमुख दायित्व भएको धारणा राखिन्।

उनले राज्यले अगाडि सारेका नीति तथा कार्यक्रमलाई मर्यादित भएर अगाडि बढाउन राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रले भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। इन्टरनेट र समाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गर्दै राष्ट्रपतिले राष्ट्रले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेकाले त्यसलाई केन्द्रमा राखेर आफ्नो आचारसंहिता तथा मूल्य र मान्यतामा रहेर अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गरिन्।

मुलुकलाई सही दिशामा लैजान पत्रकारिख ता क्षेत्रको प्रमुकर्तव्य रहेको भन्दै उनले गलत सूचना नजाओस् भनेर निरन्तर सजगता अपनाउनु पत्रकारिता क्षेत्रको पेशागत दायित्वसमेत रहेको र त्यसले पेशाको मर्यादा र सम्मानसमेत गर्ने उल्लेख गरिन्।