दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको
छ।
हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकी राखेका थिए ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो । सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।
समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको जनाईएको छ ।
वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको जानकारी गराइएको छ ।
सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।
