चालकको आन्दोलका कारण रक्सौलमा रोकिए आठ सय टयांकर

५ आश्विन २०७५, शुक्रबार १६:०६

काठमाडौं । चालकहरुले थालेको आन्दोलनका कारण रक्सौलमा करिब आठ सय टयांकर थन्किएका छन् । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको अगुवाईमा भईरहेको आन्दोलनका कारण सर्वसाधारणले सास्ति पाउनुका साथै देशका विभिन्न स्थानमा जने सार्वजनिक यातायातहरु ठप्प छन् ।

आन्दोलनको मारमा प्रदेश– २ का अधिक जिल्लाहरु परेका छन् । प्रदेश–२ का जिल्लाहरुमा सार्वजनिक साथै नीजि सवारी साधनहरुसमेत ठप्प बनेका छन् । चालकहरुको आन्दोलनकै कारण भारतको रक्सौलमा आठ सय ट्याङ्कर रोकिएका छन् । जसले गर्दा देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक सवारी चलाउने चालकहरुले मंगलबारबाट सवारी नचलाउने घोषणा गरेका हुन् ।

ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने ब्यवस्था गरेकोप्रति चालकहरुले असन्तुष्टि जनाएका छन् ।