राप्रपामा फेरि भाँडभैलो असन्तुष्ट समूहद्वारा बैठक वहिस्कार

२ आश्विन २०७५, मंगलवार १७:११

 

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाभित्रको असन्तुष्टिको स्वर बाहिर आएको छ ।

व्यक्तिगत टकरावले एकपछि अर्को गर्दै क्षति व्यहोर्दैै आएको राप्रपाभित्र पछिल्लो पटक गरिएको पदाधिकारी विघटनले विवाद निम्तिएको हो ।

राप्रपाको गत भदौ ४ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष कमल थापाले आफूबाहेक सबै पदाधिकारीलाई पदमुक्त गराएसँगै राप्रपा भित्र असन्तुष्टि चुलिएको स्रोतको दावी छ । ।

भदौ ४ को बैठकले पार्टीको नयाँ विधान लागू गरेको जनाउ दिँदै सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गरेको थियो । भदौ ४ मा पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘राप्रपाको संशोधित विधानको भावनाअनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुनर्गठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त’ गरिएको उल्लेख छ ।

तर, पुनर्गठन गर्ने प्रयोजनका लागि भनेर नेतृत्वले मनोमानी गरेको असन्तुष्ट समूहको भनाई छ । महाधिवेशनको लागि पनि अग्रसरता नदेखाउने र नयाँ विधानको बहाना बनाएर पद खारेज गरिनु युक्तिसंगत नभएको एक असन्तुष्ट नेताले बताएका छन ।

पार्टीले पदाधिकारीलाई पदमुक्त गरेपनि दुई जनालाई भने फेरि मनोनयन गरिएको छ । पार्टीले भदौ ५ मै महामन्त्रीमा भास्कर भद्रा र कोषाध्यक्षमा उद्धव पौडेललाई नियुक्त गरेको हो । उनीहरुको नियुक्ति गरेपनि अन्यलाई भने नियोजित रुपमा नियुक्ति नगरिएको असन्तुष्ट समूहको दाबी छ ।

यही असन्तुष्टि देखाउँदै आजदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु बुद्धिमान तामाङ, जयन्त चन्द, धवल शमशेर राणा, भीम प्रसाद गौचनलगायतका पूर्व पदाधिकारीका साथै उनीहरु निकटका केन्द्रीय सदस्यहरुले पनि बैठक बहिस्कार गरेको एक नेताले बताए ।

आजको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक विषयमा केन्द्रीय रहेर तयार पारेको प्रतिवेदन, महामन्त्री भद्राले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गरेको नेता भुवन पाठकले जानकारी दिए ।

सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको जानकारी दिँदै बैठक बुधबारसम्म चल्ने जानकारी दिए ।

राजतन्त्र र हिन्दूराष्ट्रको एजेण्डा बोकेको राप्रपा एजेण्डाको कारणले भन्दा पनि व्यक्तिगत टकरावले पटक पटक विभाजित हुँदै आएको छ । पछिल्लो गत २०७४ को साउनमा पशुपति शमशेर राणाले राप्रपा फुटाएका थिए ।