बाढी–पहिरोमा परि चारको मृत्यु, ३ बेपत्ता, ७ जना घाइते

२८ भाद्र २०७५, बिहीबार १८:१९

काठमाडौं । लमजुङमा बुधबार दिउँसो परेको अविरल वषाका कारण आएको बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता हुनुका साथै ७ जना घाईते भएका छन् । लगातारको अविरल वर्षाका कारण आएको बाढिले उक्त समस्या सिर्जना भएको हो ।

बाढि र पहिरोमा परि मृत्यु हुनेमा मस्र्याङ्दी गाउँपालिका–३, खुदी–पल्लोटारीकी ६० वर्षीया अतिरुपा थापा, उनकी १० वर्षीया नातिनी शिरीषा, सोहि वडाको अर्खलेबेसीकी ७० वर्षीया ललितमाया गुरुङ र गाउँपालिका–५ कै विष्णुकली गुरुङ रहेका छन् ।

पानी परेको बेला एकाएक आएको पहिरो छलेर भाग्ने क्रममा अतिरुपा र शिरीषा पुरिएका थिए । ललितकलालाई तोप्रोखोलामा आएको बाढीले बगाएको हो । उनको बिहीबार बिहानमात्र शव फेलापरेको प्रहरीले जनाएको छ ।

विष्णुकली बाख्रा चराउन जाँदा पहिरोमा परेकी थिइन् । उनका ४० बाख्रामध्ये १३ ओटा मरेको अवस्थामा फेलापरेका छन् । अरु २७ ओटा अझै हराएका छन् ।

बाढीमा परेर तीनजना बेपत्ता भएका छन् । बेसीसहर–११ स्थित दोर्दीखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुरलाई मस्र्याङ्दी नदीले बगाएको हो ।

मस्र्याङ्दीमा बेपत्ता हुनेमा बर्दियाका ठाकुरद्धारा नगरपालिका–५ का ३२ वर्षीय वलिराम चौधरी र २५ लक्ष्मण थारु रहेका छन् ।

यस्तै, मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५५ वर्षीया राजु लामा स्थानीय तोप्रोखोलामा आएको बाढीमा परी बेपत्ता भएका छन् ।

बाढीले एउटा ट्याक्टर, तीनओटा मोटरसाइकल, एउटा मिनिट्रक र एउटा जिप बगाएको छ ।

बाढी–पहिरोले मस्र्याङ्दी गाउँपालिका–३, ४, ५ र ६ का क्षेत्रमा बढी क्षति पुर्याएको छ । पहिरोमा परी सातजना घाइते भएका छन् ।

घाइते हुनेमा मस्र्याङ्दी–३, खुदी–तरापुका टुकमाया खत्री, कृष्ण थापा, रसीव थापा, सिजन थापा र सोही वडाको अर्खलेबेसीका फूलमाया गुरुङ रहेका छन् ।

यस्तै, वडा नम्बर–४ श्रीचौरका मेनका घले र समिर विक पनि घाइते छन् । घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पताल र खुदी स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।