काठमाडौं । ढुंगासहित पहिरो खसेपछि रसुवागढी भएर भित्रिने मालवाहक सवारीका साधन बाटैमा रोकिएका छन् ।
रसुवाको धुन्चे बजार देखि ३ मीटर नजिकको खोपङ्गभीर भन्ने स्थानमा पहिरो खसेपछि करिब मालकवाहक गाडी बीच बाटोमा नै रोकिएका छन् ।
प्राप्त जानकारी अनुसार बाटोअवरुद्ध भएर मोटरसाईकल समेत ओहोर–दोहोर गर्ने अवस्था छैन ।
आईतबार पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन । खोपङ्ग भीरमा पहिरो खसेपछि धेरै गाडीहरु रसुवागढी नाकातर्फ रोकिएका छन् । चीनबाट फर्किएका धेरै कन्टेनरमा स्याउ र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका सामानहरु छन ।
चीनबाट दशैंका लागि तयारी कपडा, जुत्ता, चप्पल, खाद्यान्न, बिद्युतीय उपकरण लगायतका सामाग्री लिन जान लागेका करिब डेढ सय कन्टेनर र ट्रकहरु पनि अगाडि जान सकेका छैनन् ।
टिमुरेबाट स्याफ्रुसम्ममात्रै करिब ५० ट्रक र कन्टेनर रोकिएको छन ।
चाडबाडका बेला पटक–पटक बाटो अवरुद्ध हुँदा बजारमा समेत अभाव सिर्जना हुन थालेको व्यवसायीको गुनासो छ ।
यसअघि पनि खोपाङ्गभीर भन्ने स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । गत भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाँदा १५ दिन बाटो ठप्प भएको थियो ।
बाटो खुलाउने प्रयास भइरहेको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पहिरो हटाउनका लागि दुई वटा स्काभेटर तथा एक एक वटा लोडर र जेसीभी प्रयोग भइरहेको छ ।
बाटो छेकेका दुईवटा ढुंगा ब्रेकरले फुटाएर हटाउने प्रयास भइरहेको तर पानी पर्ने क्रम नरोकिएकाले माथिबाट फेरि पहिरो खस्ने जोखिम रहेको जानकारी प्राप्त भएको छ ।
