काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयमा विवाद देखिएको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डलमा हेरफेरको संकेत गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको खण्डन गरेका छन् ।

भारत भ्रमण जानु अगाडि भदौ १९ गते प्रचण्डले आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीमा जनतालाई निराश नगराउने गरी मन्त्रीमण्डल हेरफेर हुने बताएका थिए । तर, त्यसको चार दिनपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य बादलले प्रचण्डको संकेतको खण्डन गरेका हुन् ।
भदौ २३ गते प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रीमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताए । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरू हेरफेर हुने हल्ला चलाएका छन् । केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।’
ओलीले आफ्ना मन्त्रीहरुलाई आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरे । ‘मेरो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले हमला गरेका छन् । सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ । छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ । कतिपयलाई यो मन परिरहेको छैन,’ ओलीले भनेका छन् ।
पछिल्लो समय दुई अध्यक्षको भनाइमा मतभेद देखिएको छ । जसले गर्दा नेकपामा आन्तरिक विवाद देखिन थालेको संकेत देखिन्छ । भारत सरकारको निमन्त्रणामा प्रचण्डले चार दिने भ्रमण गरेका छन् । आइतबार र सोमबार सचिवालयको बैठक बस्ने बताइएको छ । बैठकमा तल्ला तहका संगठनको एकता प्रक्रियामा छलफल हुने बताइएको छ । भदौ २६ र २७ गते नेकपाको स्थायी कमिटीको बैठक बस्दैछ, जहाँ पार्टीको संगठनात्मक कामबाहेक सरकारको समीक्षा पनि प्रमुख एजेन्डाको रुपमा छ । स्थायी कमिटीको बैठकमा सरकारका काम कारबाही र संगठन एकीकरणका एजेण्डामा निकै आलोचना, विवाद हुन सक्ने संकेत केहि नेताको अभिव्यक्तिबाट देखिएको छ । मन्त्री हेरफेरको बिषय के हुने हो त्यो भने हेर्न बाँकी छ ।
