
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधामन्त्री डा।बाबुराम भट्टराईले ७ प्रदेशले नपुगेको भन्दै १० प्रदेश बनाए देशको समस्या समाधान हुने बताएका छन् ।
काठमाडौंमा पत्रकार बसन्त बस्नेतले लेखेको पुस्तक ‘७२ को विस्मय’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै भट्टराईले जनतामा रहेको असन्तुष्टि र द्धन्द्धको घाउ पाक्यो भने त्यसले विकराल रुप लिने दावी गरे ।
उनले यसको समाधान भनेको राज्य पुर्नसंरचना आयोगले सिफारिस गरे अनुसार देशमा १० प्रदेश बनाउनुपर्नेमा जोड दिए
उनले एउटै भाषा बोल्ने धेरै समुदाय भएको ठाँउमा छुट्टै प्रदेश बनाउनुपर्ने बताउँदै तराई मधेशमा २ वटा र पहाडमा ८ वटा प्रदेश बनाउनुपर्ने बताए । भट्टराईले अबको ५ बर्षभित्र नेपालमा १० प्रदेश भएरै छाड्ने दावी समेत गरे ।
भट्टराईले संविधान निर्माणको काममा महत्वपूर्ण काम गरेपनि राज्य पुर्नसंरचनाको बिषयमा कमजोरी भएको उल्लेख गरे । जाती समुदायले आधिकार पाउने लोकतन्त्र बन्न नसकेको उनको जिकिर थियो । उनले संविधानको प्रस्तावनामा माओवादी आन्दोलन, मधेशी आन्दोलन, जनजाती आन्दोलन उल्लेख नगरेकोमा आपत्ति प्रकट गरे ।
उनले भने– ‘नेपालको बहुजातिय, बहुसांस्कृतिक पक्षलाई बुझ्नेगरी हामीले राजनीतिक व्यवस्था गर्दैैनौँ, सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने ढंगको बाटो लिँदैनौ, त्यतिबेलासम्म हामीले जति लोकतन्त्रको बाँसुरी बजाएपनि समस्या समाधान हुँदैन ।’
उनले जबसम्म सम्र्पूण जाती समुदायको भावना संविधानले बोक्दैन, उनीहरुको समस्या समाधान हुँदैन तबसम्म नेपालमा शान्ति नहुने ठोकुवा गरे ।
