आफ्नै जग्गा आफैलाई विक्रि…

२२ भाद्र २०७५, शुक्रबार ०७:५७

काठमाडौं । काठमाडौं महानगरपालिका अन्र्तत पर्ने बुढानिलकण्ठ स्थीत चन्दकृष्ण कायस्थको करिब १० करोड बराबरको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीको मिलोमतोमा विक्रि भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । समाचार अनुसार उनको आफ्नो हातमा लालपुर्जा हुदा हुदै पनि उनको जग्गा उनैलाई विक्रि गरिएको छ । मालपोत कर्मचारीहरुले नक्ली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री भएको हो ।

मालपोत कार्यालयमा रहने स्रेस्तामा नै उनको फोटो उप्काएर अर्को व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको खुलेको हो । प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुनील मल्लका अनुसार किर्ते कागजपत्र बनाई जग्गा बेच्ने प्रदीपकुमार गौतम तथा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार भूमाफियाको एक समूहले मालपोत र नापी कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर सो जग्गा बिक्रीको योजना बनाएका हुन् ।

योजनाअनुसार नै मालपोत कार्यालयमा राखिने जग्गाधनीको स्रेस्तामा कायस्थको फोटो उप्काएर गौतमको फोटो टाँसियो । कायस्थकै नाममा नक्कली नागरिकता र लालपुर्जा तयार भयो र जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएको थियो । मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी उनीहरूले जग्गा पास गराएका थिए ।