पोखरा– सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक आज पोखरामा हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा मुख्यमन्त्रीहरु पोखरा पुगेका हुन् ।

भेलामा प्रदेश सरकारले हालसम्म गरेका काम र भोग्नुपरेका समस्या तथा चुनौतीका विषयमा छलफल हुने जनाइएको छ ।
भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश परिषद्को बैठकमा एउटै एजेण्डा लैजाने विषयमा मुख्यमन्त्रीहरुबीच छलफल हुने छ ।
केन्द्रसरकारले प्रदेशलाई अधिकार नदिएको भन्दै मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन् । मुख्यमन्त्रीहरुले केन्द्रसरकारको कामप्रति र केन्द्रले प्रदेशमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् । कतिपयले यसलाई केन्द्रसरकार विरुद्ध प्रदेश सरकारहरुको मोर्चावन्दीको रुपमा लिएका छन् ।
बैठकमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई, दुईका लालबाबु राउत, तीनका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सहभागीता रहने छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने भेलामा उपस्थित छैनन् ।
