काठमाण्डौ,
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सरकारको समिक्षा गर्ने भन्दै बैठक डाकेको छ । सरकारको समिक्षाका लागि नेकपाले सचिवालय र स्थायी समिति बैठक डाकेको हो ।

नेकपाले आउँदो भदौ २४ र २५ गते सचिवालय बैठक डाकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सचिवालय बैठक लगत्तै २६ र २७ गते स्थायी समितिको बैठक बस्ने तयारी भैरहेको उनले बताएका छन । बैठकमा सरकारको समिक्षासँगै नेकपाको प्रदेश र जिल्ला कमिटीको एकताका विषयमा समेत छलफल हुने श्रेष्ठले बताए।
उनले सरकारका मन्त्री परिवर्तन गर्ने विषयमा भने कुनै ठोस कुराकानी नभएको बताए। ‘गहिराईमा पुगेर मन्त्रालयगत समिक्षाको कुरा भएको छैन’, श्रेष्ठले भने।
प्रवक्ता श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि सरकारको समिक्षा गर्नुपर्ने पक्षमा रहेको बताए। ‘उहाँको धारणा आवश्यक पर्यो भने मन्त्री हेरफेर हुनसक्छ भन्ने हो। तर अहिले आवश्यकता हो कि हैन भन्ने विषय छँदैछ’, श्रेष्ठले भने।
पार्टी एकतापछि नेकपाको स्थायी समिति बैठकमा सरकारको समिक्षा भएको छैन। स्थायी समिति बैठक पटक पटक सर्दै आएको छ। बजेटपछी गत असार २१ मा बसेको नेकपाको स्थायी समिति बैठकमा केही सदस्यले सरकारले देखिने काम नगरेको आरोप लगाएका थिए।उनीहरुले दुई तिहाईको सरकारको बजेट गतिलो नभएको भन्दै आलोचना गरेका थिए। आलोचना सुरु भएपछि उक्त बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले हस्तक्षेप गर्दै सरकारको समिक्षाका लागि छुट्टै बैठक डाक्ने आश्वासन दिएका थिए। तर नेकपाको स्थायी समिति बैठक त्यसयता बस्न सकेको छैन।
अर्कोतर्फ नेकपा एकताको सय दिन काटिसक्दा समेत पार्टीका जिल्ला र प्रदेश किमिटी एक हुन सकेका छैनन्। जिल्ला कमिटीको नेतृत्व टुङ्ग्याउन गठित तत्कालिन एमाले र माओवादीको सम्मिलित कमिटीले नेतृत्व टुङ्गो लगाउन सकेको छैन। त्यस्तै युवा, विद्यार्थी, प्रेस सम्बन्धित भातृ संगठनको नेतृत्वको समेत टुङ्गो लागेको छैन।
नेकपा भित्रको पूर्व एमालेको माधव नेपाल पक्ष र केपी ओलीपक्षबीच जिल्ला तहको नेतृत्वमा मतभेद छन्। प्रदेश ५ मा एकजना पनि माधव नेपाल पक्षका नेता जिल्ला नेतृत्वमा सिफारिसमा नपरेपछि नेता नेपाल असन्तुष्ट छन्।
