फणीन्द्र नेपाल रिहा

२० भाद्र २०७५, बुधबार ११:४४

 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने आशंकामा पक्राउ परेका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल ६ दिनपछि हिरासतमुक्त भएका छन् । उनलाई एक हजार धरौटीमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले रिहाई गरेको हो ।

 

गत बिहीबार उनलाई चाबहिलस्थित निवास बाट पक्राउ गरेको थियो । नेपालले बिमस्टेक सम्मेलनका लागि नेपाल आउन लागेका मोदीलाई कालो झण्डा देखाउने योजना फेसबुकबाट पहिल्यै सार्वजनिक गरेका थिए । यसअघि पनि मोदीलाई कालो झण्डा देखाउने क्रममा उनी तीन पटक पक्राउ परिसकेका छन् ।

नेपालले आफ्नो संगठनसँग सरकारले वार्ता गर्नुपर्ने माग राखेका छन् ।

‘देश टुक्रयाउने सीके राउतजस्तालाई खुल्ला छोड्ने सरकारले देश जोड्न खोज्ने हामीलाई अपराधिको व्यवहार गरिरहेको छ,’ उनले भने ।

सुगौली सन्धीपछि नेपालबाट खोसिएको भूमि भारतले फिर्ता दिनुपर्ने एजेन्डाका साथ नेपालले अभियान चलाउँदै आएका छन् । उनि देश भक्ति भावना बोकेर लामो समय देखि देश जोडने अभियानमा लाग्दै आएका छन ।