
धादिङकी एक महिलाको राहदानी बनाउँदा गम्भीर लापरवाही गरेको समाचार आजको नागरिक दैनिकले मुख्य प्राथमिकताका साथ छापेको छ । गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछानेको राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने नै छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ । त्यस्तै राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको छ ।
धादिङ हुनुपर्नेमा अघिल्लो पानामा कास्की लेखिएको छ भने अर्को पानामा गजुरी बजार–१ डोटी लेखिएको छ । त्यस्तै राष्ट्रियतामा तिब्बतियन लेखिएको छ ।
परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी भएको राहदानीमा नाम, ठेगाना र राष्ट्रियता नै फरक लेखिएको भेटिएपछि लामिछाने छक्क परेको समाचारमा उल्लेख छ ।
यसैगरी युके एडको डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिफिड)ले नाफामुखी बैंक पोसेको, खनिजमा माफियातन्त्र मौलाएको फेक रेस्क्यू प्रकरणमा बिनाप्रमाण अनुसन्धान प्रतिवेदन तयार पारिएको लगायतका समाचारहरु पनि नागरिकका्े पहिलो पृष्ठमा छन् ।
