काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका नेता एवम् पूर्व सूचना तथा संचार मन्त्री डा मिनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
भदौ १ गतेबाट लागू गरिएको नयाँ मुलुकी ऐनका कतिपय प्रावधानमा असहमति जनाउँदै संशोधन गर्न नेपाल पत्रकार महासंघले सरकारलाई दवाव दिइरहेका बेला काँग्रेस नेता रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन छुट्टै कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।
आइतबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन संचारकर्मीहरु पनि सचेत हुनुपर्ने आवश्यकता पनि औंल्याए ।
संचारकर्मीहरु जिम्मेवारी भए प्रेस स्वतन्त्रता हनन् हुन नसक्ने नेता रिजालको तर्क छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले नयाँ मुलुक ऐन संशोधन गरेर भएपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन आफूहरु प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले नयाँ मुलुकी ऐनमा संशोधन गर्नुपर्ने विषयबस्तुको ड्राफ्ट तयार पारेर सरकारलाई बुझाउन पनि नेपाल पत्रकार महासंघसँग आग्रह गरे ।
