काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा पेचिलो विवाद हुने देखिएपछि बैठक लगातार स्थगित हुँदै आएको छ । यद्यपि बैठक स्थगनमा नेताहरूले प्राविधिक कारण देखाएका छन् ।
पार्टीका तल्लो कमिटी प्रदेश तथा जिल्ला कमिटी र जनसङ्गठनको एकीकरण प्रक्रिया जटिल बन्दै गएको छ । यसको प्रभाव पार्टी स्थायी कमिटी बैठकमा देखिएको हो ।

साउन २४ गते बसेको सचिवालय बैठकले यससम्बन्धी निर्णय लिन भन्दै भदौ ८ र ९ गतेका लागि स्थायी कमिटी बैठक आह्वान गरेको थियो । तर बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को चौथो शिखर सम्मेलनलाई कारण देखाएर उक्त बैठक भदौ १९ र २० गतेका लागि सारिएको थियो ।
भदौ १९ र २० गतेका लागि तय भएको बैठक पनि फेरि सरेको छ । अब बैठक भदौ २६ र २७ मा बस्ने छ । यस पटक बैठक सार्दा चाहिँ शीर्ष नेताहरूको विदेश भ्रमणलाई कारण देखाइएको छ । हाल वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन् ।
भदौ २२ मा पार्टी अध्यक्ष प्रचण्ड भारत जाँदैछन् । लगत्तै सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीको प्रतिनिधिमण्डल लिएर चीन भ्रमण जाँदैछन् । श्रेष्ठलगायतका टोली चीनमा रहेको बेला असोज १ गते प्रचण्ड पनि चीन भ्रमणमा जाँदैछन् ।
