संघीयता कार्यान्वयनमा बर्तमान सरकार उदासिनः पौडेल

१८ भाद्र २०७५, सोमबार १४:३४

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले संघीयता कार्यान्वयनमा वर्तमान सरकार उदासीन देखिएको आरोप लगाएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा जनसम्पर्क समिति कोरियाले गरेको अन्तरक्रियामा पौडेलले सरकारका काम कार्वाहीहरु संघीयता अनुकुल नभएको टिप्पणी गरेका हुन् ।

 

उनले प्रदेशले केन्द्रलाई नटर्ने र केन्द्रले प्रदेशसँग समन्वय नगर्ने घटनाले संघीयता कार्यान्वयनप्रति सरकारको नियतबारे नै गम्भीर प्रश्न उठेको बताए । विशेषगरी दुई नम्बर प्रदेशमा भइरहेका घटनातर्फ संकेत गर्दै पौडेलले बेलैमा सजग नहुने हो भने गम्भीर स्थिति सिर्जना हुन सक्ने संकेत गरे ।

काठमाडौंको खाल्डा खुल्डी पुर्न नसक्ने वर्तमान सरकारले रेल र पानीजहाजको सपना देखाउनु हाँस्यास्पद भएको भन्दै पौडेलले शान्ति सुरक्षाको अवस्था नाजुक रहेको घटनाक्रमहरुले पुष्टि गरेको बताए । उनले शान्ति र समृद्धिको कोरा नारा दिएर जनतालाई भुलभुलैयामा नपार्न सरकारलाई चेतावनी समेत दिएका छन ।