प्रचण्ड चीनमा ब्यस्त

३१ भाद्र २०७५, आईतवार १२:३७

 

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण सकेर फर्केको एक साता नबित्दै उत्तरी छिमेकीको भ्रमण सुरु गरेका छन् ।

भदौ २१–२४ सम्म भारत भ्रमण गरेका प्रचण्ड पाँच दिनको भ्रमणका लागि शनिबार चीन भ्रमणमा निस्केका छन् । प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ आफ्नो चीन भ्रमण दुई देशका सरकारबीच भएको पछिल्ला सहमति र समझदारी प्रभावकारी कार्यान्वयन गराउन आवश्यक वातावरण बनाउन उपयोगी हुने बताएका थिए ।

साउन दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरी चीन भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए ।

त्यसबाहेक चार दिन लामो भ्रमणमा प्रचण्डले कसकसलाई भेट्छन् भन्ने सार्वजनिक भएको छैन । जबकि प्रचण्ड भारत भ्रमणमा जाँदा उनको दैनिक कार्यतालिका पहिला नै सार्वजनिक भएको थियो । तर कार्यतालिका भन्दा बाहिर पनि उनले केही भेट चाहिँ गरेका थिए । जस्तो कि पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको भेट दिल्ली पुगेर मात्रै तय भएको थियो ।

भारत भ्रमणमा जाँदाजस्तै चीन जाँदा पनि प्रचण्डको भ्रमणलाई लिएर कूटनीतिक वृत्तमा हलचल हुने गर्छ । दक्षिणी छिमेकीले त नेपालका शीर्ष नेताहरूको बेइजिङ भ्रमणलाई निकै चासोको साथ हेर्दै आएको छ । त्यसमाथि प्रचण्डको बेइजिङ भ्रमणमाथि दिल्लीको सधैँ चासो रहने गरेको कूटनीतिक मामलाका जानकारहरू बताउँछन् ।

प्रचण्डमाथि कहिले उत्तर र कहिले दक्षिणतिर ढल्कने गरेको आरोप लाग्छ । तर उनी यसलाई आफ्नो सन्तुलित कूटनीति मान्छन् । त्यसो त चीन भ्रमणमा प्रचण्ड आफै पनि सतर्क रहने गरेका छन् । यसका पछाडि प्रधानमन्त्रीको हैसियतमा उनले गरेको चीन भ्रमण र त्यसपछिको राजनीतिक घटनाक्रम जोडिएको छ । कारण, प्रचण्डका लागि प्रधानमन्त्रीका रूपमा पहिलो चीन भ्रमण त्यति सुखद रहेन ।

नेपालका छवटा नाकामार्फत पारवहन ढुवानी गर्न सक्ने कार्यविधिमा उल्लेख छ । यसमा नेपालतर्फका रसुवागढी रसुवा कोदारी सिन्धुपाल्चोक, किमाथान्का सङ्खुवासभा, नेचुङ मुस्ताङ यारी हुम्ला र ओलाङचुङगोला ताप्लेजुङ रहेका छन् । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि एक मात्र भारतको कोलकता बन्दरगाहमा भर पर्दै आएको थियो ।

यो सहमतिपछि भारतमा त्यहाँको सरकार नेपालसँगको कूटनीतिमा असफल भएको भन्दै आलोचना पनि भयो । सहमतिपछि चीनसँग जोडिएका थप नाका खुल्नेछन् । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणमा व्यापार तथा पारवहन सम्झौता भएको थियो ।

कम्युनिस्ट सरकारका पाला चीनसँग भएको यो सहमतिपछि भारतीयपक्ष चाहिँ असन्तुष्ट छ । यसबाहेक हालै विमस्ेटक देशहरूको संयुक्त सैन्य अभ्यासबाट नेपाल अन्तिम समयमा बाहिरियो । यसमा पनि भारतीयपक्षले कूटनीतिक रूपमा आफ्नो असन्तुष्टि राखेको छ । यी घटनाक्रम त्यतिबेला भए, जब प्रचण्ड भारत भ्रमणमा थिए ।

अहिलेको चीन भ्रमणमा प्रचण्डले आफू पहिलो र दोस्रो पटक चीन जाँदा गरेका सहमति कार्यान्वयन, नेपालमा चिनियाँ लगानी वृद्धिदेखि ओली सरकारका पाला भएका समझदारी कार्यान्वयनमा जोड दिनेछन् । यद्यपि केही समझदारी चाहिँ कार्यान्वयनको चरणमा आइसकेका छन् ।

त्यसबाहेक नेपाल–चीन सीमापार रेल परियोजनासम्बन्धी काममा पनि प्रगति हुँदैछ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार रसुवागढी–काठमाडौँ रेलमार्ग ७२ किलोमिटरको हुनेछ, जसमा धेरै सुरुङ र अग्ला पुल हुनेछन् । काठमाडौँको टोखालाई अन्तिम स्टेसनका बनाइएको छ ।

यसबाहेक सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गत असार ५ गतेदेखि १० गतेसम्म चीनको भ्रमणमासँग ऊर्जा आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप आयाम थपिएको र तेल र ग्यासको सम्भाव्य अध्ययन गर्ने, निर्यातयोग्य नेपाली समान निर्यात गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने, सरकारी छात्रवृत्तिलाई बढाउनका लागि दुवै देश सहमत भएका थिए । प्रधानमन्त्री ओलीको भ्रमणका अवसरमा १४ बुँदे संयुक्त विज्ञप्ति जारी भएको जानकारी दिँदै १३ सरकारी स्तरमा र नौ वटा निजीस्तरमा गरी २२ वटा महत्वपूर्ण सहमति तथा सम्झौता भएका थिए ।

लामो समयदेखि चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको तयारी गरिए पनि भ्रमण भने हुन सकेको छैन । पछिल्लो पटक डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चिनियाँ प्रधानमन्त्री वेन जिया वाओ एक दिनका लागि २०६८ पुस ३० मा काठमाडौँ आएका थिए । सरकार प्रमुखको हैसियतमा २०१३ असोज १० देखि १२ सम्म पहिलो पटक टङ्कप्रसाद आचार्यले चीन भ्रमण गरेका थिए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लिखछ्याङलाई नेपाल भ्रमणका लागि निम्ता दिएका थिए । आफ्ना राजनीतिक भेटमा प्रचण्डले चिनियाँ उच्च नेतृत्वको नेपाल भ्रमणबारे पनि कुराकानी गर्नेछन् ।

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएलगत्तै उनले दुई उपप्रधानमन्त्री कृष्णबहादुर महरा र विमलेन्द्र निधिलाई विशेष दूतका रूपमा चीन र भारत पठाएका थिए । महरालाई चीन पठाउनुको उद्देश्य चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी त थियो नै यसबाहेक पूर्ववर्ती सरकारले गरेका सम्झौताहरूको कार्यान्वयको सुनिश्चितता गर्नु पनि थियो । अहिलेसम्म चीनबाट दुई जना राष्ट्रपतिले मात्रै नेपाल भ्रमण गरेका छन् । जियाङ जेमिन २०५३ मङ्सिर १९ मा त्यस अगाडि २०४० चैत ६ देखि ८ मा नेपाल भ्रमण गरेका थिए ।

प्रधानमन्त्रीका रूपमा बेइजिङ पुगेका प्रचण्डले चिनियाँ राष्ट्रपतिदेखि उच्च अन्य राजनीतिक नेतृत्वसँग पनि भेट गरेका थिए । प्रचण्डको चीन भ्रमणमा उच्च स्तरीय भेटबाट विश्वास र समझदारी सुदृढ, विकासका लागि आवश्यक सहयोग र समर्थन, वान बेल्ट वान रोड अवधारणामा नेपाल सहभागी हुने प्रतिबद्धता, चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता, तातोपानी नाका पुनः सञ्चालनमा चिनियाँ राष्ट्रपतिको चासो, चिनियाँ लगानीका लागि पहल र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन प्रोत्साहन भएको दाबी गरिएको थियो ।

नेपालमा चीनले लामो समयदेखि राजनीतिक स्थिरता, तिब्बत सुरक्षा, लगानी विस्तार र भरपर्दो मित्र शक्ति अपेक्षा गर्दै आएको छ । संविधान जारी हुनुअघि चीनले नेपालको सङ्घीय संरचनामाथि चासो राखेको थियो । खास गरेर नेपाल जातीय सङ्घीयतामा नजाओस् भन्ने चिनियाँ चासो थियो । सङ्घीयतामा जाँदा पनि सकेसम्म कम प्रदेश र उत्तर दक्षिण जोडिएका प्रदेशमा चीनको चासो थियो ।

भारतको गोवामा तत्कालीन प्रधानमन्त्रीका रूपमा सहभागी प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ एकै ठाउँमा बसेको दुर्लभ तस्बिर सार्वजनिक भएको थियो ।

संविधान जारीपछि भारतको अघोषित नाकाबन्दीकै बीचमा नेपालले इन्धन आपूर्तिलगायत चीनसँग दीर्घकालीन साझेदारीको प्रयास सुरु गरेको थियो । पहिलो पटक प्रधानन्त्रीको हैसियतमा केपी ओली चीन जाँदा ‘वान बेल्ट, वान रोड’ परियोजनाको फ्रेमवर्कभित्र रहेर नेपालमा परियोजनाहरू अघि बढाउनेलगायतका महत्वपूर्ण सहमति भएका थिए । नेपाल र चीनबीच तिब्बतसँग जोडिएको १ हजार ४ सय १४ किलोमिटर लामो सीमा छ । चीनले संवेदनशील क्षेत्र मानेको तिब्बतमा नेपालबाट चीन विरोधी गतिविधि नहून् भन्नेमा चिनियाँ चासो बढी छ । यसमा पनि प्रचण्डले ध्यान दिनेछन् ।

भारत भ्रमणका बेला चीनका राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएका छलफलका विषयमा पनि आफूलाई ब्रिफिङ गराएको प्रचण्डले बताएका थिए । चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीचको उहान वार्ता भएको थियो ।
शान्ति प्रक्रियापछि प्रचण्ड–चीन सम्बन्धमा बेला–बेला अविश्वास पैदा भएको थियो । प्रचण्डको पछिल्लो भ्रमणले विश्वासलाई कति मजबुत बनाउँछ, त्यो भने भविष्यमा नै भन्न सकिन्छ । तर प्रचण्डको चीन भ्रमण दिल्लीका लागि चासोमा रहनेछ ।