कांग्रेसले विपीको बाटो छोडेको छैन्ः रामचन्द्र पौडेल

२५ भाद्र २०७५, सोमबार १५:०४

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले वीपीको बाटो नछाडेको बताएका छन् । सोमबार वीपी जयन्तीको अवसरमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन् । कार्यक्रममा उनले अधिकांस कांग्रेस साथीहरुले नै वीपीको बाटो छाडेका छन् । तर, आफुले सोहि मार्गमा रहेर राजनिती गरिरहेको जनाएका छन् । उनले भने्, ‘पछिल्लो समय वीपीलाई बेचेर खानेहरुले विभिन्न खालका भ्रम मात्रै छरिरहेका छन् । बरु कांग्रेसले वीपीको सपना पुरा गरेको छ ।’

केही नेताहरुले कांग्रेस कम्युनिस्टसँग मिलेका कारण पार्टीले चुनाव हारेको भन्ने गरेको भन्दै उनले त्यसको खण्डन गरे । ‘वीपीले कम्युनिस्टसँग मिल्न हुँदैन भनेका थिए । कांग्रेसले कम्युनिस्टसँग मिलेर उसैलाई सत्तामा र्पुयायो भन्ने गरेको सुनिन्छ’ नेता पौडेलले भने, ‘वीपीले कम्युनिस्टसँग मिल्न हुँदैन भनेर कहिल्यै भन्नू भएको थिएन । कांग्रेस कम्युनिस्टसँग मिलेका कारण नेकपाले बहुमत ल्यायो भन्नू गलत छ ।’
बरु कांग्रेसले कम्युनिस्टसँग मिलेर देशलाई परिवर्तनको बाटोमा सहज ढङ्गले अगाडि बढाएको उनले बताए । ‘२०४६ सालमा कम्युनिस्टसँग मिलेर संघर्ष नगरेको भए के हुन्थ्यो ? पछिल्लो समय कम्युनिस्टसँग मिलेर शान्ति प्रक्रियामा नगएको भए के हुन्थ्यो ? पौडेल भन्छन्, ‘कांग्रेस कम्युनिस्टसँग मिल्न गएका कारण अहिले चुनाव र्हायो भन्नु राजावादी सोच जस्तो लाग्छ ।’

कांग्रेसका नेताहरुले वीपीको सपना पूरा गरेकोमा गर्व गर्नुपर्ने पौडेलको भनाइ छ । ‘उहाँले संविधानसभाबाट संविधान भन्नु भएको थियोे । लोकतान्त्रिक संसदीय व्यवस्था चाहनुभएको थियो’ नेता पौडेलले भनेका छन्, ‘त्यो अहिले पूरा भएको छ । हामीले बिपिको सपना पूरा गरेका छौँ ।’

वरिष्ठ नेता पौडेलले परम्परावादी चिन्तनले अब कांग्रेस माथी उठ्न नसक्ने समेत बताएका छन् । ‘२०१५ सालमा कांग्रसले कसरी बहुमत ल्यायो भन्ने बुझ्नुपर्ने हुन्छ । त्यो बेला गोरखा परिषद र कांग्रेस थियो । त्यो बेला अहिले जस्तो जनतामा राजनीतिक चेतना थिएन’ उनी भन्छन्, ‘कांग्रेसले त्यो बेला सिमित पुरातनवादीलाई हराएर बहुमत ल्याएको हो । यो भुल्नु हुँदैन ।’

उपसभापति विमलेन्द्र निधिले पनि पार्टीकै जिम्मेवार नेताहरुले कांग्रेसले वीपीको लाइन छाड्यो भन्ने गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘परिवर्तित समयलाई बुझ्न नसक्नेहरु यस्तो भन्ने गरेका हुन् ।’

कांग्रेसले आफूलाई बैचारिक रुपमा प्रष्ट पारेर सरकारका गलत कार्यका विरुद्ध लाग्नुपर्नेमा उनले जोड दिए । ‘संघीय लोकतान्त्रिक व्यवस्था कम्युनिस्ट सिद्धान्तले चलाउने सक्दैन’ निधिले भने, ‘नागरिक अधिकार, प्रेस स्वतन्त्रता र संविधान कुनैपनि दृष्टिले सरकारले सही बाटो लिइरहेको छैन । मूल्य वृद्धि, कर जस्ता विषय छन् । सभामुख र उपसभामुख फरक(फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन भएको छैन् । यो सरकारले जनताको पक्षमा काम गरिरहेको छैन ।’

कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीले वस्पीको नाम बेचेर खानेहरुप्रति पार्टी नेतृत्व गम्भिर हुनुपर्ने सुझाए । ‘वीपीले यो चाहेका थिएनन्, त्यो चाहेका थिएनन् भन्नु उहाँको अवमूल्यन हो’ उनले भने, ‘वीपीको नाम भजाएर दक्षिणपन्थीसँग जोड्नु हुँदैन । हामीले वीपीलाई समग्रमा बुझ्न जरुरी छ ।’

परिवर्तित समय अनुसार चल्न नसक्नेहरुले मात्रै कांग्रेसले वीपीको बाटो छाडेर भन्ने गरेको हुन सक्ने उनको भनाइ छ ।