सिपयुक्त जनशक्तिमात्रै वैदेशिक रोजगारीमा जान पाउने

७ भाद्र २०७५, बिहीबार १६:४५

भदौ ७, २०७५ काठमाडौं ।

नेपाल सरकारले सिपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सेवा, सुविधा वृद्धि गर्न पनि सरकारले सिपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने अनिवार्य व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन् ।

आज प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बिष्टले वैदेशिक रोजगारीमा जाने कामदारलाई सिप सिक्न सरकारले आवश्यक संरचना निर्माणको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारे ।

मन्त्री विष्टले सरकारले वैदेशिक रोजगारलाई प्रवद्र्धन नगर्ने नीति लिएको पनि बताए । उनले बाध्यकारी अवस्था रहँदासम्म वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई संशोधन गरी वैदेशिक रोजगार व्यवस्थापन बोर्ड स्थापना गर्ने कामलाई अघि बढाइएको पनि समितिलाई जानकारी दिए ।

सरकारले स्वदेश भित्रै रोजगारीको अवसर सृजना गर्ने कामलाई पहिलो प्राथमिकता दिएको उनको भनाई छ ।