पर्साको पर्सागढी नगरपलिकामा एक पुरुषको शव फेला

७ भाद्र २०७५, बिहीबार १५:१८

भदौ ७, २०७५ काठमाडौं ।

पर्साको पर्सागढी नगरपलिकामा एक पुरुषको शव फेला परेको छ । पर्सागढी नगरपालिका वडा नं ३ विरुवागुठी बस्ने ३० वर्षीय राजकुमार माझी मृत अवस्थामा भेटिएका हुन् ।


उनको शव स्थानीय बालेश्वर यादवको धान लगाएको खेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिए । ‘शरीरमा घाउ चोटपटक केही छैन, घटनाबारे अनुसन्धान भइरहेको छ ।’ उनले भने, ‘मृत्यु खासै शंकास्पद छैन ।’

स्थानीयबासीका अनुसार माझी नियमितजस्तो मादक पदार्थ सेवन गर्ने बताएका छन् । राति अत्याधिक मदिरा सेवन गरेर आलीको बाटो हिँड्दा लडेर उनको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

घटना स्थलमा पुगेका प्रहरी निरीक्षक ज्ञान कुमार महतोले पनि घटना शंकास्पद नरहेको बताए । ‘धान खेतमा शव थियो । खेतमा धान माडिएको पनि देखिएन । मृतकको शरीरमा घाउँ चोटपटक केहि छैन,’ उनले भने, ‘शव घोप्टो परेको अवस्थामा थियो, मादक पदार्थ सेवन गरेर चिप्लो आलीको बाटो हिँड्दा पानी जमेको धान खेतमा लडेर मृत्यु भएको हुन सक्छ ।’

मृत्युको यकिन कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै आउने प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको बताइएको छ ।