विधार्थी अभाव, ५ शिक्षकले ४९ विधार्थी पढाउँदै

६ भाद्र २०७५, बुधबार १४:०५

भदौ ६, काठमाडौं ।

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् । उक्त विद्यालयले लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आएको छ ।

प्रधानाध्यापक अमरराज उपाध्ययले भने, पचास विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने नियमअनुसार पनि एउटा शिक्षकले पढाउन मिल्ने विद्यार्थी सङ्ख्या छैन । हाल बालकक्षामा १८, कक्षा एकमा चार, कक्षा दुईमा १०, कक्षा तीनमा छ, कक्षा चारमा पाँच र कक्षा पाँचमा ६ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीमध्ये पनि कम मात्रै विद्यालय आउने गरेको बताए ।

उनले भनाइअनुसार विद्यालयको पहुँच क्षेत्र कम, नीजि विद्यालयको चाप बढ्नु तथा अन्य सामुदायिक विद्यालय नजिक हुँदा विद्यार्थी अभाव भएको हो । “विद्यार्थी थप्न अभिभावकको घरदैलोमै पुग्ने गरेका छौँ, अधिकांशले नीजि विद्यालयमा बालबालिका भर्ना गर्ने गरेका छन्” उनले भने । विद्यालयमा एक स्थायी, दुई राहत र दुई बालकक्षामा पढाउने शिक्षक कार्यरत छन् । विद्यार्थीको पढाइको स्तर निकै कमजोर रहेको पाइएको छ । “सबैलाई उत्तीर्ण गर्नुपर्ने नियम छ, पढाइको स्तर सोचेजस्तो छैन,” उनले भने ।