काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन आज समापन भएको छ । दुई दिन सम्म काठमाडौंको सोल्टी होटलमा चलेको विमस्टेक शिखर सम्मेलन शुक्रबार १८ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको हो ।
चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका थिए ।
काठमाडौं घोषणापत्र जारी भएपछिको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताए ।
सम्मेलनका क्रममा बिमस्टेक देशबीच क्षेत्रीय सहयोग बढाउने शान्ति र समृद्धिको दिशामा मिलेर जानुपर्ने कुरामा सहमति भएको ज्ञवालीले बर्ताए ।
साथै शिखर सम्मेलनमा ‘मल्टी डाइमेन्सल कनेक्टिभिटी’मा जोड दिइएको बताउँदै ज्ञवालीले यसका बारेमा थाइल्याण्डले ‘मास्टर प्लान’ बनाउँदै गरेको जानकारी दिए । थाइल्याण्डको प्रारम्भिक रिपोर्टपछि योजना अघि बढाइने पनि उनले पनि जानकारी दिए ।
औपचारिकतामा सीमित बिमस्टेकलाई अब भने परिणाममुखी बनाइने ठोस योजना अघि सारिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
सार्क बडापत्रजस्तै बिमस्टेक चार्टर बडापत्रको पनि तयारी गरिएको बताउँदै उनले बिमस्टेकको आफ्नै रिसर्च सेन्टर र विश्वविद्यालय बनाउन सकिन्छ भन्ने कुरामा पनि सहमत भएको बताए ।
त्यस्तै मौसम परिवर्तनका कारण हिमाली देशहरु भुटान र नेपाल विभिन्न समस्याबाट गुज्रिरहेकाले योसँग जुझ्न साझा प्रयास अपनाउने कुरामा सहमति भएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले २०२२ मा बिमस्टेक टुरिजम कन्क्लेभ आयोजना गर्ने कुरामा सबै सदस्य राष्ट्र सहमत भएको पनि जानकारी दिए ।
