बिम्स्टेकले गरिबीको साङ्लो र अभावको कुचक्रबाट मुक्त गर्नुपर्छः प्रधानमन्त्री ओली

१४ भाद्र २०७५, बिहीबार १७:३९

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विम्स्टेकले गरिबीको साङ्लो र अभावको कुचक्रबाट यी देशहरुलाई मुक्त पार्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले बिमस्टेकको उद्घाटन समारोहलाई सम्बोधन यस्तो बताएका हुन् । उनले सम्बोधनको क्रममा आगन्तुक राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई बुद्ध र सगरमाथाको देशमा स्वागत समेत गरेका थिए ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै ओलीले भने्, विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने बंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायमगर्ने प्रतिबद्धताका साथ उपस्थित भएका छौँ । उनले बिमस्टेकको सहयोगले दक्षिण एसिया र दक्षिण पूर्व एसियालाई जोडिने बताए।

सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्ध प्राकृतिक सम्पदा, कृयाशील जनसंख्याबाट श्रृजना हुने अनगिन्ती अवसरहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले पूर्खाबाट विवेक, ज्ञान पनि पाएको उल्लेख गरे । यस क्षेत्रका जनतालाई गरिबीको साङ्लो र अभावको कुचक्रबाट मुक्त्त गर्नुपर्ने विचार राख्दै उहाँले भन्नुभयो, ‘हामीले बिमस्टेक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नै पर्दछ । हामीले शहश्राब्दी विकास लक्ष्यअन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको दीगो विकासको लक्ष्यसमेत हासिल गर्नै पर्दछ ।’

यस्तै ओलीले आर्थिक विकासको इन्जिन व्यापार नै हो भन्दै ‘बस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धी मामिलामा आपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमा विवादको निराकरणजस्ता विषयहरुमा सहमति आजको आवश्यकता हो, जसले बिमस्टेकलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछ । स्वतन्त्र र स्वच्छ व्यापारप्रतिको हाम्रो प्रतिवध्दता अपरिहार्य छ ।’

प्रधानमन्त्री ओलीले यस क्षेत्रमा कनेक्टिभिटी र पर्यटनको प्रवद्र्धन गर्न बुध्दिस्ट सर्किटको अवधारणालाई मूर्तता प्रदान गर्नु पर्ने कुरामा जोड दिए ।