काठमाडौं– नेकपाका सांसद योगेश भट्टराईले नेपाल मेडिकल एसोसिएसन र डा. गोविन्द केसीबीचको फरक छुट्याउनै आफु कन्फ्युज भएको बताएका छन् ।
विहिबार काठमाडौंमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसोसिएसनका पदाधिकारीवीचको छलफलको क्रममा उनले यस्तो बताएका हुन् । छलफलको क्रममा सांसद भट्टराईले ‘मेडिकल एसोसिएसन र डा. केसी छुट्टिने ठाउँ कहाँ हो?’
भट्टराई भने ‘गोविन्द केसी नै मेडिकल एशोसिएशनको हुन की भन्ने संका लाग्न थालेको छ । जब गोविन्द केसी अनसन बस्नुहुन्छ अनि तपाईंहरु बोल्नुहुन्छ, फेरि चुपचाप लाग्नुहुन्छ । यो छुट्टिने ठाउँ कहाँ हो, यो छुट्टिनुपर्छ। तपाईंहरुको तर्कले छुट्टिन्छ तर व्यवहारले छुट्याइरहेको छैन’, भट्टराईले जिज्ञासा राखेका थिए।
‘उच्च स्तरिय चिकित्सा शिक्षा आयोग डा केसीको माग हो, तपाईंहरुको होइन’, भट्टराईले भने, ’तर तपाईंहरु कहिल्यै त्यो भन्नुहुन्न।’
भट्टराईले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने भनेर निषेध गर्न खोजेको हो कि निधेष गर्न खोजेको हो भनेर एशोशिएसनका सदस्यहरुलाई प्रश्न गरेका थिए।
भट्टराईले प्रदेशमा सरकारद्वारा खोलिने भनेको मेडिकल कलेजका विषयमा पनि प्रश्न गरेका थिए। ’प्रत्येक प्रदेशमा सरकारले एउटा मेडिकल कलेज खोल्ने भनिएको छ’, उनले भने, ’अहिले गोविन्द केसीसँगको सम्झौता र यो विधेयकले कति वर्षपछि मेडिकल कलेज खुल्छ? सरकारले भोलि चाह्यो भने खोल्न सक्छ कि सक्दैन?’
समितिको बैठकमा एशोशिएनका तर्फबाट अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष डा ढुंडीराज पौडेल, महासचिव डा लोचन कार्की र सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकी लगायत उपस्थित थिए।
