पहिलो खेल नेपालले ओमनसँग खेल्दै

१२ भाद्र २०७५, मंगलवार १७:३७

नेपालले एसियाकप छनौट क्रिकेट प्रतियोगीता अन्तर्गतको उद्धघाटन खेलमा नेपालले ओमनसंग खेल्ने भएको छ । बुधबार देखी मलेसियामा सुरु हुन लागेको उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।

एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भैसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलमा विजय हासिल गरेको छ ।

सन् २००२ को एसिसी ट्रफीमा नेपालले ओमनलाई १०५ रनले पराजित गरेको थियो । सन् २०१० को एसिसी ट्रफी एलिट कपमा नेपालले ओमनलाई ६ विकेटले तथा सन् २०१३ को डिभिजन तीनमा नेपालले लिग चरणको खेलमा ओमनलाई २८ रनले पराजित गरेको थियो ।

गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन दुईमा ओमनले नेपाललाई पराजित गरेको थियो । सन् २०१४ को एसीसी प्रिमियर लिगमा ओमनले नेपाललाई दुई विकेटले पराजित गरेको थियो ।

एशिया कप छनोट खेलमा नेपालसहित आयोजक मलेसिया, युएइ, हङकङ, सिङ्गापुर र ओमान गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले भदौ १३ मा युएइसँग, १४ मा मलेसियासँग, १६ मा सिंगापुरसँग तथा हङकङसँग १९ गते खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नुका साथै विजेता टोलीले एशिया कपमा सहभागिता जनाउने छ ।

एशिया कप भने यही भदौ २८ देखि असोज १२ गतेसम्म युएर्इमा हुनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगता तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेको थियो ।

नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलङ्कन आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । भोलि नै हुने अर्को खेलमा आयोजक मलेसिया र हङ्कङ भिड्दैछन् ।