सबै भन्दा धेरै नेवार समुदायको बाहुल्यता रहेको काठमाडौं उपत्यकामा आज (सोमबार) गाईजात्रा निकालिदै छ । हरेक वर्ष वर्षभरिमा वितेकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने चलन रहदै आउको छ। विशेषगरी वर्ष दिनयता मृत्यु भएका आफन्तको स्मृतिमा झाँकीसहित गाईजात्रा निकाल्ने प्रचलन छ। काठमाडौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ।
दिवंगत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने विश्वास गरिन्छ। भक्तपुरमा बाँसमा मृतकको तस्विर गाईको प्रतीक चिह्न टाँसेर नगर परिक्रमा गराई लठ्ठी जुधाएर नाचिने ुघिन्ताङघिसीु नाच देखाइँदैछ। पाटनमा बौद्ध धर्मावलम्बीले विहार वा बहाल वही परिक्रमा गरेर यो जात्रा मनाउँदै मनाइन्छ। नाबालक छोरा चक्रवर्तेन्द्रको मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै तत्कालीन राजा प्रताप मल्लले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन आदेश दिएपछि यसले जात्राको रूप लिएको विश्वास गरिन्छ।
मुख्य दिन भाद्र कृष्ण प्रतिपदा भए पनि अष्टमीसम्म मनाइने यो पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान गर्ने परम्परा छ। गाईजात्रा नेवार समुदायको बाहुल्य भएका काभ्रेको बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, धादिङको त्रिशूली क्षेत्र, नुवाकोट, दोलखा, भोजपुर र इलामलगायतका स्थानमा पनि मनाइन्छ। गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।
