चाईना थ्री गर्जेज नेपाल आउदै, पश्चिम सेति आयोजनाबारे वार्ता गरिने

११ भाद्र २०७५, सोमबार ०८:३४

पश्चिम सेतिबारे छलफल गर्न चाईना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको उच्चस्तरीय टोली सोमबार नेपाल आउने भएको छ । कम्पनीका अध्यक्ष लु सुनसहितको टोली नेपाल आउने लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए। अधिकारीका अनुसार ग्री गर्जेजसँग पश्चिम सेती आयोजनाबारे मंगलबार छलफल हुनेछ। ७५० मेगावाट क्षमताको आयोजना निर्माणका लागि बोर्डले संयोजन गरिरहेको छ। कान्तिपुर दैनिकका अनुसार २०६८ सालमा सम्झौता गरे पनि चिनियाँ कम्पनीले विभिन्न सर्त राख्दै अहिलेसम्म आयोजना निर्माणको सुरसार गरेको छैन।

थ्री गर्जेजले आयोजना निर्माणका लागि चासो नदेखाएपछि लगानी बोर्डले वार्ताका लागि बोलाएको थियो। सरकारले आर्थिक वर्ष ०७५÷७६ को बजेटमार्फत यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरेको छ। सरकारले आफैँ बनाउने भने पनि आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिइएको सम्झौता तोडिएको छैन।