आजका खबरपत्रिकाः अनुसन्धानको घेरामा प्रहरी

१० भाद्र २०७५, आईतवार ०८:०५
रौतहटमा डुंगा डुब्यो, विप्लवदेखि सीके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

राजधानीबाट प्रकाशित आजका खबर सबैजसो पत्रिकाहरुले रौतहटको लालबकैया नदीमा भएको डुंगा दुर्घटना र निर्मला हत्या प्रकरणको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

निर्मला हत्या प्रकरणमा प्रहरी नै अनुसन्धानको घेरामा परेको, कांग्रेस महासमिति बैठकको मिति तय भएकोलगायतका समाचारले आजका पत्रिकाहरुमा ठाउँ पाएका छन् ।

नयाँ पत्रिकाः विप्लवदेखि सीके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

‘अब प्रहरी नै अनुसन्धानको घेरामा’ शीर्षक दिएर नयाँ पत्रिकाले कञ्चनपुर घटनाबारे मुख्य समाचार लेखेको छ । बलात्कारको अनुसन्धानमा लापरबाही मात्र नभएर जानाजान प्रमाण दबाउन नै भूमिका खेलेको समाचारमा उल्लेख छ ।

विप्लवदेखि सीके राउतसम्मलाई सरकारले वार्तामा बोलाउने तयारी गरेको समाचारलार्इ पनि नयाँ पत्रिकाले महत्वका साथ पहिलो पृष्ठमा छापेको छ ।

सरकारले शुक्रबार। द्वन्द्वरत पक्षसँग वार्ता गर्नका लागि सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गरेको थियो । उच्चस्तरीय वार्ता टोलीमा नेकपाका नेता सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी तथा गृह मन्त्रालयका एक सहसचिव सदस्य छन् ।

टोलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत, पूर्वमा गतिविधि गरिरहेको कुमार लिङ्देन नेतृत्वको समूहसहित सरकारसँग सम्वादमा नआएका तराईका भूमिगत सशस्त्र समूहसँग वार्ता गर्ने म्यान्डेट पाएको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकले निर्मला हत्या प्रकरणको अनुसन्धान शुरुदेखि नै गर्न लागिएको लेखेको छ । रौटहटमा डुंगा डुब्दा कम्तीमा १५ जना बेपत्ता भएको अर्को खबर पनि कान्तिपुरमा छ । कुखुरा नपाल्ने मकवानपुरको कुन्छाल गाउँको कथालाई कान्तिपुरले एंकर बनाएको छ । समाचार अनुसार भाले बास्दा गाउँमा रोगव्याथी लाग्ने विश्वासमा यहाँका गाउँलेहरुले कुखुरा पाल्ने गरेका छैनन् । सट्टामा हाँस पाल्दै आएका छन् ।

अन्नपूर्ण पोष्टले आज निर्मला हत्या प्रकरणसँगै बिम्स्टेक सम्मेलनबारे चर्चा गरेको छ । नागरिकको पहिलो पृष्ठमा रौतहट डुंगा दुर्घटना, निर्मला हत्या प्रकरणलगायतका समाचारले ठाउँ पाएका छन् ।

अन्य पत्रिकाहरुले जस्तै निर्मला हत्या प्रकरणबारे मुख्य समाचार लेखेको गोरखापत्रले निजी विद्यालयमा दश प्रतिशतलाई मात्रै निःशुल्क हुने भएकोलाई एंकर बनाएको छ । सरकारले निःशुल्क शिक्षामा निजी विद्यालयको दायित्वलाई घटाउने गरी अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक संसदमा पेश गरेको हो ।

राजधानीले निर्मला हत्या प्रकरणमा दिदीबहिनी पक्राउ परेको समाचारसँगै मेडिकल कलेजमा भाडाका बिरामी आउने गरेको समाचार छापेको छ ।

हिमाल साप्ताहिकः महिलालाई नागरिकता दिन परिवारबाटै रोक

हिमाल साप्ताहिकले महिलालाई नागरिकता दिन परिवारबाटै रोक लगाइने गरेको समाचार छापेको छ । यो समस्या मधेसका धेरै महिलामा छ ।

‘श्रीमती हो भन्ने स्वीकार्छन्, तर नागरिकता बनाउनका लागि नाता प्रमाणित गर्न मान्दैनन् । मधेसका धेरै महिलाको साझा भोगाइ हो यो,’ समाचारमा लेखिएको छ ।

नागरिकता बनाउन नाता प्रमाणित अनिवार्य छ । नाता प्रमाणित हुन नसकेको यस्तै एउटा समस्यालाई कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले हालै विशेष जुक्ति लगाएर किनारा लगाएको प्रसंग समाचारमा छ ।

समाचारमा लेखिएअनुसार श्रीमतीको नागरिकता बनाइदिन नमानेका एक व्यक्तिलाई सहायक प्रमुख जिल्ला अधिकारीले बोलाएर ‘मेरी श्रीमती हो, तर म नागरिकता बनाइदिन्नँ’ भन्ने कागजमा हस्ताक्षर गर्न लगाए । उनले सहजै हस्ताक्षर गरेपछि त्यही प्रमाणको आधारमा सीडीओ कार्यालयले ती महिलाको नागरिकता बनाइदिएको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएअनुसार अरुबेला परिवारले बेवास्ता गरे पनि सामाजिक सुरक्षा भत्ता पाउने उमेरमा भने केही महिलाको नागरिकता बन्ने गरेको छ ।

हेर्नुहोस् यस्ता आजका पत्रपत्रिकाका मुख्यपृष्ठ