नगरपालिकाले निर्माण गरिदियो बाढीपीडितलाई पक्की घर

८ भाद्र २०७५, शुक्रबार ०८:५२

दाङका बाढिपिडितहरुले पक्की घर पाएका छन् । दाङको लमही नगरपालिका–९ अमेलियाका बाढीपीडितले आवास निर्माण कार्यक्रम मार्फत उनीहरुलाई घर निर्माण पछि हस्तान्तरण गरिएको हो ।

उनीहरुलाई नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो । २०७४ साउन २७ गतेको बाढीले नगरपालिका–९ अमेलियाका २२ घर बाढिका कारण पूर्णरुपमा बस्न नमिल्ने गरी भत्किएपछि स्थानीय तहले बाढीपीडित बस्तीको पुनर्निर्माण अभियान सञ्चालन गरेका थियो ।

एक वर्षपछि नयाँघर पाउँदा अमेलियाका बाढीपीडितहरु खुसी भएका छन् ।

नगरपालिकाले पूर्णक्षति भएका परिवारलाई प्रतिपरिवार घर निर्माणका लागि २ लाख सहयोग गरेको थियोे । नगरपालिकाको सहयोग र स्थानीयको सकृयतामा भान्छा र सौचालयसहितको नयाँघर निर्माण गरिएको हो ।

बाढीपीडितलाई स्थानीय सरकारको अनुभूति हुनेगरी राष्ट्रिय वनको खाली जमिनमा बसोबासको व्यवस्था गरिएको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले बताए । आवश्यक काठ व्यवस्था गर्न सामुदायिक वनलाई अनुरोध गर्ने र बाढीपीडितका लागि सबै सुविधासहितको पक्की घर निर्माण गरिने केसीले बताउनुभयो । लमही–९ का मैनेमा ४, तेल्लेमा ३, रिहारमा ६, हात्तीखाल, अमेलिया र वाङ्गेतालमा ९ वटा पक्की घर निर्माण गरिएको छ ।