दोस्रो अभ्यास खेल खेल्दै नेपाल

८ भाद्र २०७५, शुक्रबार ०८:०९

नेपाल शुक्रबार दोस्रो अभ्यास खेल खेल्ने भएको छ । एसिया कप छनोटका लागि तीन अभ्यास खेल खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्न लागेको हो । आज हुने खेलमा नेपालले श्रीलंकाको स्थानिय ब्लुमफिल्डको समाना गर्नेछ ।

पहिलो खेलमा सामान्य ब्याटिङ गरेपनि उत्कृष्ट बलिङका कारण जित्न सफल बनेको नेपाल दोस्रो अभ्यास खेलमा पनि सुखद् नतिजा निकाल्ने दाउमा रहेको छ। श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लब निकै पुरानो क्रिकेट क्लब हो सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ। यस्तै यो टिमले धेरै स्टार खेलाडीहरु समेत उत्पादन गरिसकेको छ ।

श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो । यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ । यस क्लबमा हाल उमेर समूहमा उच्च प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको छ। युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन्। नेपालले अभ्यास गर्ने सबैभन्दा बलियो टिमका रुपमा समेत यसलाई हेरिएको छ।