उत्कृष्ट प्रर्दशन रह्यो चौथो खेलमा पनि सन्दिपको

६ भाद्र २०७५, बुधबार १४:३८

भदौ ६, काठमाडौं ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेविन प्रिमियर लिग (सीपिएल) मा आफ्नो उच्च प्रदर्शनलाई चौथो खेलसम्म निरन्तता दिएका छन् ।

सीपिएलमा आज बिहान सम्पन्न खेलमा सेन्ट लुसियामाथिको ७ विकेटको सहज जितमा उनले महत्वपूर्ण दुई विकेट लिए ।

दुई ओभर बलिङ गरेका सन्दीपले १३ रन खर्चिएर २ विकेट लिएका हुन् । उनले डेभिड वार्नरलाई कट एन्ड बोल्ड तथा अहमेद क्वेजलाई आउट गरे ।

सीपिएलमा उनको यो सातौं विकेट हो । यसअघिका तीन खेलमा सन्दीपले ५ विकेट लिएका थिए।

सेन्ट लुसिया स्टारले दिएको ७० रनको सामान्य लक्ष्य सेन्ट किट्सले ८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। सेन्ट किट्सका लागि डिभोन थोमसले नटआउट ३८ रन जोड्दा ब्रान्डन किङले १७ रन बनाए। इभिन लेभिस १३ रनमा आउट भएका थिए । सेन्ट लुसियाका मिचेल म्याचिङघलम र केभिज हजले समान १ विकेट लिए ।

यसअघि डारेन सामी नेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सेन्ट लुसिया १२।३ ओभरमा ६९ रनमा समेटियो ।

उसका लागि अहमेद क्वेजले सर्वाधिक २४ रन बनाए । डेभिड वार्नरले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

सेन्ट लुसियालाई कम रनमा समेट्न सेल्डन कट्रेलले ३ विकेट लिए । सन्दीप लामिछाने र मामदुल्लाहले समान २/२ विकेट लिए । कार्लोस ब्रेथवेट र वेन कटिङले समान १ विकेट लिएका थिए।

यो जितसँगै सीपीएल क्रिकेटमा सन्दीपको टिम प्याट्रियट्स ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

इन्डियन प्रिमियर लिगमा (आईपीएल) दिल्ली डेयरडेभिल्समा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए ।

उनलाई प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो ।

सेन्ट किट्सले अब शनिबार बिहान बार्वाडोस ट्रिडेन्ससँग खेल्नेछ । त्यसपछिका बाँकी ५ खेल सन्दीपले गुमाउनेछन्। सन्दीप आइतबार एसिया कप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न मलेसिया जाने भएकाले बाँकी खेल गुमाउने भएका हुन् ।

नेपाली टोली एसिया कप छनोटको तयारीमा अहिले श्रींलंका मा छ । सन्दिप वेष्टइन्डिजबाट सोझै मलेसिया जान लागेका हुन्। यदि उनको टोलीले बाँकी खेल जितेर प्ले अफमा पुगे पुनः सन्दिप क्यारेवियन जानेछन्।