भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको निधन, अन्त्येष्टि अपराह्न ४ बजे गरिने

१ भाद्र २०७५, शुक्रबार ११:१५

भदौ १, काठमाडौं ।
भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने बताइएको छ ।

हिजो राति बिहीबार ९३ वर्षका उमेरमा निधन भएका वाजपेयीको पार्थिव शरीर रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको बताइएको छ । उनको श्रदाञ्जलीका लागि बिहान ९ बजे पार्थिव शरीर भारतीय जनता पार्र्टीको मुख्यालयमा राखिएको बताइएको छ ।

वाजपेयीको शवयात्रा दिउँसो १ बजे शुरु हुने बताइएको छ । उनको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने बीबीसीले जनाएको छ ।

वाजपेयीको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको बताइएको छ ।