साउन ३१, काठमाडौं ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका नेता हृदयेश त्रिपाठी लगायतका नेताहरू आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्दैछन् ।
नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीवार आयोजित एक कार्यक्रममा त्रिपाठी लगायतका नेताहरू नेकपा प्रवेश गर्न लागेका हुन् ।
तत्कालीन एमालेको सूर्च चिह्न लिई त्रिपाठी नवलपरासीबाट चुनाव लडेका थिए । संसदमा उनी सत्तारुढ नेकपा सांसदहरूको ‘रो’मा बसिरहेका छन् ।
त्रिपाठी सहित सांसद वृजेशकुमार गुप्ता, नेता पशुपति दयाल मिश्र लगायत पनि नेकपा प्रवेश गर्दैछन् । नेकपा पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको भन्दै सञ्चारकर्मीलाई निमन्त्रणा गरेका छन् ।
पूर्वमन्त्री त्रिपाठीलाई संसदीय समितिको सभापति बनाउने तयारी रहेको नेकपा स्रोतले जनाएको छ । २०७० को संविधानसभामा बाहेक उनी २०४८ सालदेखि लगातार संसदको सार्वजनिक लेखा समितिको सदस्य थिए ।
शुरुमा उनलाई मन्त्री दिने तयारी भएपनि शक्तिकेन्द्रको चलखेल बढेको भन्दै मन्त्री बनाइएको थिएन । पार्टीमा उनले स्थायी समिति सदस्यको जिम्मेवारी पाउने सहमति भएको छ ।
सोही कार्यक्रममा ओखलढुंगाका नेपाली कांग्रेसका केही नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।
