साउन ३१, काठमाडौं ।
नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् । वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थालेको तथ्य फेला परेको छ ।
पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका हुन् । पर्यटक भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिसामा पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको विषयमा श्रम मन्त्रालयमै सूचना आएपछि वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेको थियो ।
पुतलीसडक स्थित शंकरदेव क्याम्पस अघि अफिस नै खोली उनीहरुले ठगी धन्दा चलाइरहेका थिए । ‘पिपल फर वर्क’ नामको कम्पनी नै दर्ता गरि काम गरिरहेको पाइएको विभाग स्रोतले जनाएको छ ।
सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिसा उपलब्ध गराउने भन्दै सुरुमै २ लाख माग्ने गरेका थिए । उनीहरुले अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाखसम्म खर्च लाग्ने बताउने गरेको पीडितहरुले बताए ।
