साउन ३०, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध देशका १०० पत्रिकाले बिहीवार एक साथ सम्पादकीय छाप्ने भएका छन् ।
ट्रम्पको प्रेसविरोधी दृष्टिकोणका कारण यो कदम उठाएर उनलाई सन्देश दिन खोजेको पत्रिकाहरूको तर्क छ ।
यो अभियान अमेरिकी पत्रिका बोस्टन ग्लोबले शुरू गरेको हो । ऊ सबै मिडियाकहाँ पुगेर उनीहरूलाई अपील गर्न सफल भयो ।
आफ्नो अपीलमा बोस्टन ग्लोबले आफ्नो एडिटोरियल स्टाफमार्फत सबै मिडिया संस्थालाई सम्पादकीयमार्फत राष्ट्रपतिको प्रेसविरोधी दृष्टिकोण उचित छैन भन्ने सन्देश दिन अनुरोध गरेको छ । प्रेसविरुद्धको घिनलाग्दो खेल अन्त्य हुनुपर्ने अपीलमा लेखिएको छ ।
त्यसपछि भनिएको छ, ‘जुनसुकै विचारधारा भएपनि सबैजनाले मिलेर पत्रकारिताको पक्षमा जोडदार बयान दिनुपर्छ । सरकारसमक्ष जनताको पक्ष राख्नका लागि पत्रकारिता अत्यन्त जरूरी भएकाले सम्पादकीय लेख्नुपर्छ ।’
आइतवारसम्म १०० मिडिया हाउसले यो अभियानमा सहमति जनाएको बताइएको छ । अभियानमा संलग्न सबै मिडिया हाउसले बिहीवार सम्पादकीय आफ्नै भाषा र शैलीमा छाप्नेछन् ।
यससम्बन्धी बयानमा भनिएको छ, ‘हामी सरकारबाट मिडियालाई खतरा विषयमा सम्पादकीय छाप्नेछौं ।
सबै पत्रिकाले यसै विषयमा लेखून् भनी हामी अपील गर्छौं । हाम्रा शब्द फरक होलान् तर हाम्रो विचारबाट के प्रस्ट हुनेछ भने ट्रम्पले मिडियामाथि आक्रमण गर्दा लोकतन्त्रलाई कति र कस्तो खतरा हुन्छ भन्ने प्रस्ट हुन्छ ।’
