यसै शैक्षिक सत्र देखि एमयुमा कानुन तर्फको ‘बिए एलएलबी’ कक्षा शुरु हुने

३० श्रावण २०७५, बुधबार १५:०८

साउन ३०, काठमाडौं ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) सुर्खेतमा यसै शैक्षिक सत्र देखि कानुन तर्फको बिए एलएलबी कक्षा शुरु हुने भएको छ ।

प्लस टु सकेका विद्यार्थीहरुका लागि ५ बर्षे सेमिटेक्निकल कार्यक्रमको रुपमा शैक्षिक सत्र २०७५/०७६ देखि विश्वविद्यालयले भर्ना आवेदन खुल्ला गरेको हो ।


विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लका अनुसार यही भदौ ३० गते सम्म आवेदन फाराम भर्ने समय तोकिएको छ । उनका अनुसार असोज ४ गते प्रवेशिका परीक्षा हुने र असोज १५ बाट कक्षा शुरु हुने तालिका प्रकाशन गरिएको छ ।

एलएलबी कक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि मल्लले बताएका छन् ।

कानुन संकायमा तत्काल नयाँ पदाधिकारीकाे नियुक्ति नगरिने मल्लले बताए । उनले भने, ‘तत्काल नयाँ शिक्षक, क्याम्पस चिफ तथा डीन तोक्ने कुनै कार्यक्रम छैन । बिए एलएलबी कार्यक्रम विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा सञ्चालन हुन्छ ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बिए एलएलबी कार्यक्रमलाई भावी प्रधानन्यायाधीश तथा न्यायाधीश उत्पादन गर्ने केन्द्रको रुपमा विकास गरिने उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले बताए । उनले भने, ‘गुणस्तरमा कुनै सम्झौता हुँदैन ।’

कोइरालाले भने, ‘एलएलबीको पहिलो व्याचमा ५० जना बिद्यार्थी भर्ना गरिनेछ भने पठनपाठनका लागि हाल एमफिल सञ्चालन भएको ठाउँमा विहान कक्षा सञ्चालन हुन्छ ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले गत बैशाख ७ गते पूर्व महान्यायाधिवक्ता एवं काठमाडौं स्कूल अफ ल का कार्यकारी निर्देशक प्रा.डा. युवराज संग्रौलाको उपस्थितिमा सुर्खेतस्थित कानुन विज्ञहरुसंग छलफल गरी पाठ्यक्रमलाई अन्तिम रुप दिएको थियो ।

५ बर्षे बिए एलएलबी कार्यक्रम बिए, बिविए, बिबिएस तथा विएड वा सोसरहको हुनेछ ।