तीन वर्षे छोरो रोएपछि विमानबाट निकालिए एक दम्पती

२४ श्रावण २०७५, बिहीबार १६:५०

साउन २४, काठमाडौं । एजेन्सी

एक भारतीय परिवारले युरोपको एक प्रतिष्ठित विमान कम्पनीमा नश्लभेद र अभद्र व्यवहारको आरोप लगाएको छ । आफ्नो तीन वर्षे छोरो रोएपछि विमानबाट आफूहरूलाई निकालिएको परिवारको आरोप छ ।

परिवारका अनुसार, बच्चा रोएपछि आमाले उसलाई फकाउँदै गर्दा क्याबिन क्रूको एक सदस्यले अभद्र टिप्पणी गर्दै विमानबाट निकालेका थिए ।

परिवार भन्छ, ‘बच्चा रोएपछि आमाले उसलाई फुल्याउन थालिन् । त्यतिखेर क्याबिन क्रूका एक सदस्य आएर बच्चालाई तर्साइदिए र बच्चा झनै धेरै रुन थाल्यो ।

विमान उड्नै लाग्दा यो घटना भएको थियो । त्यसपछि परिवारसँगै बच्चालाई फुल्याउने कोशिश गरेका केही अन्य हामीलाई पनि विमानबाट निकालियो ।’

यो नश्लभेदी तथा अपमानजनक घटना ब्रिटिश एयरवेजको लन्डन–बर्लिन फ्लाइटमा भएको थियो । घटना एक भारतीय इन्जिनियरिङ सर्भिसका अधिकारीमाथि भएको हो । उनी भारतको सडक विभागमा काम गर्छन् ।

यस सम्बन्धमा ब्रिटिश एयरवेजका प्रवक्ताले भने, ‘यस्ता आरोपहरूलाई हामी एकदमै गम्भीरताका साथ लिन्छौं । यस्तो व्यवहार कुनै हालतमा स्वीकार्य छैन । हामीहरू यात्रुसँग लगातार सम्पर्कमा छौं र घटनाको अनुसन्धान शुरू गरिसकेका छौं ।’

भारतका उड्डयनमन्त्री सुरेश प्रभुलाई पत्र लेख्दै ती अधिकारीले उल्लेख गरे, ‘सुरक्षा घोषणापछि हामी सीट बेल्ट लगाइरहेका थियौं । मेरी पत्नीले छोरालाई सीट बेल्ट लगाउँदा ऊ रुन थाल्यो । छोरो जम्मा तीन वर्षको छ र सीट बेल्ट देखेर ऊ तर्सियो ।

मेरी पत्नीले छोरोलाई फकाउनलाई आफ्नो हातमा उचालिन् । अनि केही क्रू मेम्बरहरू त्यहाँ आए र पत्नी तथा बच्चालाइए हप्काउन थाले । अनि त बच्चो झनै डरायो ।’

‘त्यसपछि क्रू मेम्बरले टेक अफ हुनै लाग्दा रनवेमा भएको स्टाफाई सन्देश दिन थाल्यो अनि मेरो छोरालाई झ्यालबाट फालिदिने धम्की दियो । त्यसपछि उसले हाम्रो छालाको रंगका सम्बन्धमा एकदमै अपमानजनक टिप्पणी ग¥यो ।

हामीहरूको भन्दा पछाडिको सीटमा बसेको भारतीय परिवारले बच्चालाई फकाउन कोशिश गर्दा उनीहरूलाई पनि विमानबाट हामीसँगै निकालियो ।’