टेस्ला कम्पनीका एलन मस्कले एक ट्वीटमा कमाए डेढ खर्ब रुपैयाँ

२३ श्रावण २०७५, बुधबार १६:०८

साउन २३, काठमाडौं । एजेन्सी

टेस्ला कम्पनीका सीईओ एलन मस्कले ट्विटरमा आफ्नो कम्पनीलाई वाल स्ट्रीटबाट बाहिर निकालेर निजी बनाउने विषयमा विचार गरिरहेको लेखे । अनि उनले ४२० डलर प्रतिशेयरको दरले लगानीकर्ताबाट शेयर फेरि किन्ने पनि बताए ।

उनको यो ट्वीटले टेस्लाको शेयरमा ११ प्रतिशत वृद्धि भयो र एक शेयरको मूल्य ३७९.५७ डलर पुग्यो । यसपछि मस्कको सम्पत्ति लगभग डेढ खर्ब बढ्यो ।

मस्कले आफ्नो योजनामा अघि बढेर विद्युतीय कार निर्माता कम्पनी टेस्लालाई पब्लिकबाट प्राइभेट फर्म बनाएमा सबभन्दा ठूलो सम्झौता हुनेछ । चार सय २० डलर प्रति शेयरको हिसाबमा यो सम्झौता ७२ अर्ब डलर हुनेछ ।

कर्मचारीहरूलाई लेखेको एक पत्रमा मस्कले योजनाको बारेमा विस्तारपूर्वक बताउँदै कम्पनीलाई निजी बनाउनु नै सर्वोत्तम हुने बताए । उनले लेखे, ‘यसरी टेस्ला राम्ररी सञ्चालन हुन सक्छ । कम्पनी अल्पकालीन सोच र अलमलबाट मुक्त भएर काम गर्न सक्छ ।’