दृष्टिविहीन व्यक्तिको फ्ल्याटमा आठ फीट लामो अजिंगर, लन्डनको व्यस्त सडकमा खायो परेवा (भिडियो)

२३ श्रावण २०७५, बुधबार १२:२९

साउन २३, काठमाडौं । एजेन्सी

पूर्वी लन्डनको एक व्यस्त सडकमा अजिंगरले परेवा खाएको भेटिएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका फोटो र भिडियोमा अजिंगरले परेवालाई बेरेको देखिएको थियो । शनिवार बिहान लेटोनस्टोन हाई रोडको एक पसलअगाडि यो दृश्य देखिएको हो ।

पहिल्यै मरिसकेको परेवालाई मानिसहरूले अजिंगरको अगाडि राखिदिएको दी इभनिङ स्ट्यान्डर्ड पत्रिकाले लेख्यो । जनावरहरूको संस्था आरएसपीसीएलाई घटनास्थलमा बोलाइएको थियो । संस्थाकी प्रवक्ताले अजिंगरले चरालाई शिकार गरेर नमारेको विश्वास लिएको बताइन् ।

अजिंगरलाई नजिकैको वन्यजन्तु केन्द्रमा लगिएको थियो ।

सोमवार मात्र आठ फीट लामो अजिंगर एक्सेटरमा एक दृष्टिविहीन व्यक्तिको फ्ल्याटमा चढेको समाचार आएको थियो ।