इमरान खान बने पार्टीका प्रधानमन्त्री पदका उम्मेदवार

२२ श्रावण २०७५, मंगलवार १६:०३

साउन २२, काठमाडौं । एजेन्सी

पाकिस्तान तहरीक–ए–इन्साफको संसदीय समितिले पार्टीका प्रधानमन्त्री पद उम्मेदवारका रूपमा इमरान खानलाई आधिकारिक रूपमा नामांकित गरेको छ । पार्टीका तर्फबाट नामांकन पाएपछि इमरानले जनादेशको सम्मान गर्ने र देशलाई आर्थिक संकटबाट मुक्त गर्ने शपथ खाए ।

क्रिकेटरबाट राजनीतिक नेता बनेका ६५ वर्षीय खानको पार्टी साउन ९ गते भएको आमनिर्वाचनमा सबभन्दा ठूलो दल बनेको थियो । एक होटलमा आयोजित समारोहमा पीटीआईको संसदीय समितिको बैठकमा खानलाई नामांकित गरिएको हो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष शाह महमुद कुरैशीले संसदीय दलको नेताका रूपमा इमरानको नाम पेश गरे । नेसनल एसेम्बली र सिनेटका नवनिर्वाचित नेताहरूले सर्वसम्मतिबाट यसलाई पारित गरे ।

इमरानले आफ्नो नेतृत्वमा विश्वास गरेकोमा सदस्यहरूलाई धन्यवाद दिए । उनले पार्टीको इतिहास, आफ्नो संघर्ष र उपलब्धि अनि भविष्यका योजनाको रूपरेखा प्रस्तुत गरे ।

उनले भने, ‘देशले जुन इस्युमा हामीलाई मतदान गरेको छ त्यसलाई प्राथमिकताका आधारमा सम्बोधन गर्नु हाम्रो दायित्व हो । देश अहिले आर्थिक संकटमा छ र यसबाट मुक्त हुन जरूरी छ । हामी ऋणभार कम गर्नका लागि विदेशमा बस्ने पाकिस्तानीसँग सम्पर्क गर्नेछौं ।’

पीटीआई नेता असद उमर देशको अर्थमन्त्री बन्ने अनुमान छ । उमरले अनुमान गरेअनुसार, अर्थव्यवस्थालाई घाटाबाट निकाल्नका लागि १२ अर्ब अमेरिकी डलर आवश्यक हुन्छ ।

इमरानको दलले बहुमत ल्याउन नसकेकाले अन्य दलसँग गठबन्धन गर्नुपर्ने भएको छ । त्यसैले उनको शपथग्रहण सरेको स–यै छ । देशको स्वतन्त्रता दिवस अर्थात् अगस्ट १४ गते उनको शपथग्रहणको सम्भावना छ ।