चीनले गर्यो ध्वनिको गतिभन्दा पनि छिट्टो उड्ने विमानको सफलतापूर्वक परीक्षण

२२ श्रावण २०७५, मंगलवार १५:४४

साउन २२, काठमाडौं । एजेन्सी

चीनले पहिलो हाइपरसोनिक (ध्वनिको गतिभन्दा पनि छिट्टो उड्ने) विमानको सफलतापूर्वक परीक्षणको घोषणा गरेको छ । यो हाइपरसोनिक विमान आणविक हतियार बोक्न सक्षम छ र सबै किसिमका क्षेप्यास्त्र प्रतिरोधी रक्षा प्रणालीमा प्रवेश गर्न सक्छ ।

चाइना एकेडमी अफ एरोस्पेस एरोडाइनामिक्सले एक बयान जारी गरेर शिङकोङ–२ वा स्टारी स्काई–२ को परीक्षण शुक्रवार गरिएको जनायो ।

यसलाई रकेटमार्फत प्रक्षेपण गरियो र १० मिनेटपछि हावामा छोडियो । यो आफैं उड्न सक्षम थियो र योजनाअनुसारकै क्षेत्रमा अवतरण ग–यो ।

सेनाले प्रयोग गर्नुअघि यसमा थप परीक्षण गरिनेछ ।

यो विमान शकवेभमा चल्छ । वेभराइडर भनिने यो विमान परीक्षणका बेलामा ३० किलोमिटरका उँचाइसम्म पुगेको थियो ।

विशेषज्ञहरूका अनुसार, क्षेप्यास्त्रप्रतिरोधी रक्षा प्रणालीहरूको वर्तमान अवस्था मुख्य रूपमा क्रूज र ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्नका लागि बनाइएको हो जसका बारेमा पत्ता लगाउन सजिलो छ र त्यसैले गर्दा तिनलाई रोक्न सम्भव छ ।

तर चीनको नयाँ हाइपरसोनिक विमान यति छिट्टो उड्छ कि यो अहिलेको प्रणालीका लागि चुनौती हो ।

यो परीक्षणबाट चीन अब अमेरिका र रुस झैं विकसित भइरहेको देखिन्छ । सैन्य प्रयोगबाहेक यसलाई सर्वसाधारण र सामान्य कामका लागि पनि उपयोग गरिनेछ ।