दिए न्यायाधीशले धेरै बोल्ने आरोपीको मुखमा टेप टाँस्न आदेश

२० श्रावण २०७५, आईतवार १५:०६

साउन २०, काठमाडौं । एजेन्सी

अमेरिकाको ओहायो अदालतमा डकैतीको एक मुद्दाको सुनुवाइको क्रममा न्यायाधीशले आरोपीको मुखमा टेप टाँस्न आदेश दिएका छन् ।

आरोपित फ्र्यांकलिन विलियम्समाथि डकैतीको आरोप छ । अदालतमा बहस चलिरहेको थियो । सरकारी वकिल र प्रतिरक्षा वकिलले बहस गरिरहँदा फ्र्यांकलिन आफैं पनि बहसमा हस्तक्षेप गरिरहेका थिए । त्यसले गर्दा न्यायाधीश जोन रुसो रिसाए ।

आधी घन्टाको बहसका बेलामा न्यायाधीशले फ्र्यांकलिनलाई १२ चोटि चुप लाग्न भने । न्यायाधीश रुसोले भने, ‘म आफ्ना वकिलहरूसँग कुराकानी गरिरहेको छु । तिमी चुप लागेर बस ।’

फ्र्यांकलिनले उनको कुरा काट्दै भने, ‘तपाईंले मलाई चुप लाग भन्ने ? के हो यसको अर्थ ? मलाई बोल्न नदिन मिल्छ ?’

अनि त न्यायाधीशले अदालतमा उपस्थित प्रहरी अधिकारीलाई टेप ल्याएर फ्र्यांकलिनको मुख टाल्न आदेश दिए ।

पछि न्यायाधीश रुसोले भने, ‘अदालतमा सबैले आफ्नो कुरा राख्ने मौका पाउँछन् । तर कसैले पनि अनावश्यक हस्तक्षेप गर्न पाउँदैन । मेरो उद्देश्य विलियम्सलाई बोल्नै नदिने भन्ने थिएन । म सय आएपछि उसलाई मौका दिन्थें तर ऊ बोलेको बोल्यै गर्न थाल्यो ।’

पछि फ्र्यांकलिनलाई २४ वर्षको कारावास सजाय सुनाइयो ।