सिटिजन लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकएस्योरेन्स सम्झौता

२० श्रावण २०७५, आईतवार १४:५७

साउन २०, काठमाडौं ।

एनआईसी एसिया बैंक लिमिटेडले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकएस्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहक महानुभावले मुलुकभर फैलिएका बैंकको २ सय ३३ वटै शाखाबाट सहज रुपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसी खरिद गर्न सक्ने छन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।

सर्वसाधारणले गरेको भरोसाले गर्दा मुलुकभर २ सय ३३ शाखा, २ सय २१ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर र १५ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत् सेवा प्रदान गरेर मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १ सय ७४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ४९ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । कर्जातिर करीब १ सय २० अर्ब रुपैयाँसहित निजी क्षेत्रका बैंकमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

बैंकमा ग्राहकको संख्या करीब ११ लाख ७५ हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको सूचना अधिकारी पाण्डेले बताए ।