बन्धक बनाएर राखिएका १८ महिलाहरुको उद्धार, १६ जना नेपाली

१६ श्रावण २०७५, बुधबार १६:३७

साउन १६, काठमाडौं । एनडीटीभी

भारतको बनारसमा प्रहरीले एक सेक्स र्‍याकेटको पर्दाफास गरी १८ महिलाहरुको उद्धार गरेको छ ।

बनारस प्रहरीको अपराध विभाग र दिल्ली प्रहरीले संयुक्त रुपमा बसन्त विहार क्षेत्रमा पर्ने एक घरमा छापा मारेर उनीहरुको उद्धार गरेको हो । उद्धार गरिएका महिलामध्ये १६ जना नेपाली भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महिलाहरुलाई केही दिन अघिदेखि उक्त घरमा बन्धक बनाएर राखिएको थियो र उनीहरुलाई केही दिन भित्रमा खाडी मुलुक पठाउने तयारी गरिएको थियो । नेपाली महिलाहरुलाई राम्रो जागिर मिलाइदिने प्रलोभनमा पारी बनारस ल्याइएको प्रहरी अधिकारीले बताएका छन् ।

जुलाईको पहिलो सातामा दुई नेपाली महिलाहरु तस्करको नियन्त्रणबाट फुत्किन सफल भएका थिए र उनीहरुले नेपाल प्रहरीलाई र्‍याकेटको बारेमा बताएका थिए । त्यसपछि नेपाल प्रहरीले नयाँदिल्लीस्थित नेपाली दूतावाससँग सम्पर्क गरेको थियो ।  नेपाली दूतावासले खबर गरेपछि बनारस प्रहरीले एक साताभित्र उक्त क्षेत्रका करिब आधा दर्जन घरहरुमा छापा मारेको थियो । उनीहरुले जय सिंह नामको एक मानिसलाई पनि पक्राउ गरेका थिए ।

पक्राउ परेपछि जय सिंहले महिलाहरुलाई मध्यपूर्व लैजाने तयारी भएको बताएका थिए । भाग्न सफल भएका दुई महिला र जय सिंहले दिएको सूचनाको आधारमा प्रहरीले संयुक्त रुपमा छापा हानेपछि र्‍याकेटको पर्दाफास गरेको हो । उद्धार गरिएका महिलाहरुलाई वाईएमसीए नामक सामाजिक संस्थामा पठाइएको प्रहरीले जनाएको छ ।