साउन १६, काठमाडौं । आईसीसी
चार वर्षअघि नेपाल र नेदरल्यान्ड्स फरक-फरक अवस्थाबाट बंगलादेशमा आयोजित विश्व टी-२० खेल्न पुगेका थिए । नेपाल आईसीसीको ठूलो प्रतियोगिता पहिलोपटक खेलिरहेको थियो, जसले एउटा एसोसिएट टिमको स्तरोन्नतीलाई प्रतिबिम्बित गर्थ्यो ।
अर्कोतर्फ नेदरल्यान्ड्स ओरालो लागिरहेको अवस्थामा थियो । उनीहरुको लगातार तीनपटक विश्वकपमा सहभागी भएको सिलसिलामा ब्रेक लागेको थियो । त्यसबेला नेदरल्यान्ड्सको एकदिवसीय मान्यता पनि गुमेको थियो । फलस्वरुप आईसीसीको फन्डिङ पनि उनीहरुका लागि घटेको अवस्था थियो ।
‘हामी अगाडिको यात्राबारे विल्कुल अनिश्चयमा थियौं’ अहिले नेदरल्यान्ड्स टिमको कप्तान रहेका पिटर सिलरले क्रिकइन्फोसँग भनेका छन्, ‘हामी एक किसिमले अन्धकारमा रुमल्लिएका थियौं र भविष्यमा फेरि यो स्तरको क्रिकेट खेल्न पाउने कुरामा सशंकित थियौं ।’
२०१४ को विश्व टी-२० पछि चार वर्ष कडा मिहिनेत गरेर एक दिवसीय मान्यता पाएको नेपालले आफ्नो पहिलो एकदिवसीय खेल नेदरल्यान्ड्सकाविरुद्ध मंगलबार दिउँसो नेदरल्यान्ड्सकै एमस्टलभिनको भिआरए मैदानमा खेल्दैछ । दुई खेलको सिरिजको दोस्रो खेल १८ गते हुनेछ ।
टिम
नेदरल्यान्ड्स – पिटर सिलर, वेस्ले बारेसी, डान टेर ब्राक, बेन कुपर, स्कट एडवाड्स, फेडेरिक क्लासेन, बस डि लिडे, पोउल भ्यान मेकेरेन, स्टेफेन माइबर्ग, म्याक्स ओडोड, हिडे ओभरजिक, शेन स्यान्टर र मिचेल रिप्पोन ।
नेपाल – पारस खड्का, आरिफ शेख, दिपेन्द्र ऐरी, ललित भण्डारी, शक्ति गौचन, करण केसी, सुवास खकुरेल, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, ललित राजवंशी, बसन्त रेग्मी, अनिल साह, सोमपाल कामी र शरद भेषावकर ।
