साउन १६, काठमाडौं । गोल डट्कमबाट
बार्सिलोनाका खेलाडी येरी मिनाले लियोनेल मेस्सी र लुइस सुआरेजसँग अभ्यासका क्रममा फ्रीकिकमा बाजी थाप्दा हारेर उनीहरूलाई बजार गर्नका लागि निकै पैसा तिरेको बताएका छन् ।
बार्सिलोनाका यी सेन्टर ब्याकको भविष्य यो सीजनको जल्दोबल्दो विषय बनेको छ । उनी क्याम्प नूबाट बिदा हुने निश्चित छ र उनमा इभरटन, म्यानचेस्टर युनाइटेड र लियोन क्लबले रुचि देखाएको बताइएको छ ।
स्पेन आएदेखि यी कोलम्बियाली खेलाडीका लागि बाटो सहज रहेन तर पूरै निराशाजनक स्थिति पनि भएन ।
‘म बार्सिलोना आउँदाखेरी राम्रो वातावरण बनाउन मेस्सी र सुआरेजसँग अभ्यासका क्रममा कसले सबभन्दा राम्रो फ्रीकिक हान्छ भनी बाजी थापेको थिएँ,’ उनले भने, ‘मैले उनीहरूलाई परख्नका लागि मात्र यसो गरेको थिएँ ।’
‘तर हेर्दाहेर्दै उनीहरूले मबाट दिनको ५० युरो जित्न थाले । अनि मलाई लाग्यो, यिनीहरूलाई बजार गर्नका लागि मैले पैसा तिरिरहेको छु । वास्तविकता के हो भो यी दुवैले आफूलाई मन परेकै ठाउँमा गोल गरिदिन सक्थे,’ मिनाले भने ।
‘दुवैजना गजबका मानिस हुन् र फूटबलका जादूगर नै हुन्,’ उनले थपे ।
मजाक आफ्नै ठाउँमा छ तर मिनाले काटालुन्यामा त्यति सहज अवधि बिताएनन् ।
उनलाई मैदानमा खेल्ने अवसर नै कम आयो र लिगा च्याम्पियन बार्साले मिनालाई हटाएर युरोपेली संघबाहिरका अन्य खेलाडीलाई भित्र्याउन खोजिरहेको छ ।
