विश्वकप दौडपछि क्लबहरु नयाँ सिजनको तयारीमा, धेरै पाउँदा युरोपमा तनाव

१७ श्रावण २०७५, बिहीबार १६:४८

साउन १७, काठमाडौं । एजेन्सी

विश्व फुटबलमा सर्वाधिक चर्चामा रहने लामो युरोपियन फुटबल सिजन र त्यसपछिको विश्वकप दौडपछि क्लबहरु नयाँ सिजनको तयारीमा जुटेका छन् ।

धेरै खेलाडी तयारीमा लागिरहेका बेला केही भने बिदा लम्ब्याएर मस्तीमै छन् । सिजन सकिएको लामो समयसम्म र विश्वकपको फरक अवस्थामा खेलेका खेलाडीहरु ढिला गरी क्लबमा आउँदा नयाँ सिजनमा समस्या आउन सक्ने प्रशिक्षकहरुमा डर देखिएको छ ।

नयाँ सिजनको तयारीका लागि विभिन्न १८ युरोपियन क्लब इन्टरनेसनल च्याम्पियन्स कप खेलिरहेका छन् । जसमा धेरैले भने आफ्ना प्रमुख खेलाडीलाई मैदानमा उतारेका छैनन् ।

‘विश्वकप खेलेका खेलाडीहरुबाट हामीले पि्रमियर लिगमा सुरुवात गर्न सक्ने अवस्था छैन । उनीहरु अझै अरु नै कुरामा छन् । यो युरोपकै प्रमुख क्लब प्रतियोगिताका लागि लज्जाको विषय हो’ म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोस मोरिन्होले भने ।

‘तीन हप्ताको बिदा भनेको उनीहरुको मन र शरीरलाई आराम पुग्न पर्याप्त समय हो । उनीहरु अहिलेसम्म त मैदान फर्किएर फुटबल सोच्न थालिसक्नुपर्ने हो’ उनले भने ।विश्वकप फाइनल र पि्रमियर लिग सुरु हुने बीचमा २६ दिनको अन्तर रहेको छ । पि्रमियर लिग अगस्ट ११ बाट सुरु हुँदै छ । यस्तै ११ अगस्ट बाट नै फ्रेन्च लिग वान, १८ अगस्टबाट स्पेनिस ला लिगा, २४ अगस्टबाट जर्मन बुण्डेसलिगा सुरु हुँदै छ ।

विश्व खेलाडी संघ (फिफप्रो) ले लिग फुटबल सकिएपछि खेलाडीहरुले नयाँ सिजनको तयारी हुनुभन्दा अघि कम्तीमा चार हप्ता आराम गर्ने समय पाउनुपर्ने बताएकाले पनि क्लबहरुलाई विश्वकपपछिको नयाँ सिजनको लागि समस्या परेको हो ।
फिफप्रोले विश्वकप खेलेका खेलाडीहरुलाई क्लबले चार हप्ता अगावै बोलाउन नपाइने र उनीहरुका लागि आरामको समय उपलब्ध गराइनुपर्ने बताउँदै आएको छ ।

केही खेलाडीहरु भने लगातार मैदानमा रहिरहँदा साच्चै नै आरामको आवश्यकतामा पनि छन् । उदाहरणका लागि बार्सिलोनाका क्रोएसियन मिडफिल्डर इभान र्‍याकिटिक २०१७/१८ मा ७१ खेलमा मैदान उत्रिए । क्लब र राष्ट्रिय टिमबाट गरेर २०१७/१८ मा सबैभन्दा धेरै समय खेल्ने खेलाडी उनी नै हुन् ।

बार्सिलोनासँगै एथ्लेटिको मड्रिड, युभेन्टस, मार्सेली, मोनाको, पेरिस सेन्ट जर्मेन, रियल मड्रिडका तीन/तीन खेलाडी विश्वकपको अन्तिमसम्म मैदानमा थिए । यसैले नयाँ सिजनको तयारीका लागि मात्रै होइन सिजन सुरु भइसक्दा पनि उनीहरु टिमसँग सामेल हुन सहज छैन ।

प्रिसिजन प्रतियोगिता इन्टरनेसनल च्याम्पियन्स कपमा टोटनहृयाम, लिभरपुल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल र चेल्सी गरी ६ इंग्लिस क्बल रहेका छन् ।

युभेन्टस, रोमा, इन्टर मिलान र एसी मिलान गरी ४ इटालियन क्लब सामेल छन् । साथै एथ्लेटिको मड्रिड, बार्सिलोना र रियल मड्रिड गरी ३ स्पेनिस क्लब छन् ।

दुई जर्मन क्लब ब्रोरुसिया डर्टमुण्ड र बायर्न म्युनिख साथै दुई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र लायोन रहेका छन् । पोर्चुगलको बेनफिका पनि इन्टरनेसनल च्याम्पियन्स कप खेलिरहेको छ ।