लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारका सबै निकायलाई ओलीको आग्रह

३ भाद्र २०७५, आईतवार १२:३६

भदौ ३, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारका सबै निकायलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न स्मरण गराएका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले सूचनाको हकको बिषयमा कानूनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सबैलाई आह्वान गरेका छन् । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सूचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताएका छन् ।