लागूऔषध बनाउनका लागि एक हजार २ सय ८५ रोपनीमा लगाइएको गाँजा प्रहरीद्वारा फँडानी

१ भाद्र २०७५, शुक्रबार ११:३९

भदौ १, काठमाडौं ।

लागूऔषध बनाउनका लागि जिल्लाका विभिन्न ठाउँमा एक हजार २८५ रोपनी जमीनमा लगाइएका गाँजाको बोट फँडानी गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयलका अनुसार यही साउन २५ देखि २९ गतेसम्म ताराखोला, निसीखोला र बडीगाड गाउँपालिकाभित्र लगाइएका गाँजाको बोट फँडानी गरिएको हो ।

ताराखोला गाउँपालिकाका पाँचै वडामा गरी २८५ रोपनीमा निसीखोला गाउँपालिका–६ को ६५० रोपनी, बडीगाड गाउँपालिका–८ को ३८५ रोपनी जमीनमा लागाइएको गाँजा इलाका प्रहरी कार्यालय ताराखोला, भिमगिठे र बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले फँडानी गरी जलाएर नष्ट गरेको प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताए । फडानीका क्रममा यसअघि गाँजा लगाइने ठाउँमा अन्नबाली लगाएको पाइएको उनको भनाइ थियो ।

प्रहरीका अनुसार वर्षेनी फडानी गर्दा र सचेत गराउँदा पनि स्थानीयवासीले गाँजा बनाउने उद्देश्यले ठूलो मात्रामा भाँगो खेती गर्न छोडेका छैनन् । जिल्लाको पश्चिम क्षेत्रमा अवैधरूपले गाँजाको उत्पादन, बेचबिखन र ओसारपसार बढी हुने गरेको छ ।