मन्दिरका पुजारी रावल अफ्रिकामा करोडौँ डलरको व्यापार गर्न सफल

२९ श्रावण २०७५, मंगलवार १५:५९

साउन २९, काठमाडौं । एजेन्सी

भारतको गुजरात राज्यस्थित भुजको स्वामीनारायण मन्दिरका पुजारी रहेका नरेन्द्र रावल अहिले अफ्रिकामा लगभग ६५ करोड डलरको व्यापार गर्न सफल भएका छन् ।

उनी अफ्रिकीहरूका लागि गुरु हुन् । केन्यामा राष्ट्रपति र समाजका गण्यमान्य व्यक्तिको हस्तरेखा हेर्ने अनि ज्योतिष विशेषज्ञका रूपमा उनी कार्यरत छन् ।

रावलले देवकी ग्रूप अफ कम्पनीजको अध्यक्षका रूपमा ख्याति हासिल गरेका छन् । उनको स्टील र सिमेन्टको व्यापार धेरै अफ्रिकी मुलुकहरूमा फैलिएका छन् ।

रावलले हालै केन्यामा आत्मकथा गुरु ः अ लङ वाक टु सक्सेस सार्वजनिक गरे ।

सन् १९८३ मा केन्याका तत्कालीन राष्ट्रपति डेनियल अरप मोईसँग नाकुरुमा भेट हुनु आफ्नो सौभाग्य रहेको उनी बताउँछन् । त्यसपछि नै उनी केन्यामा जमेका थिए ।

रावलले भने, ‘मैले राष्ट्रपतिलाई आफ्नो रुचि हस्तरेखा र ज्योतिषमा रहेको बताएँ र उनले मलाई स्टेट हाउस आउने खुला निमन्त्रण दिए ।

समय बित्दै जाँदा म राष्ट्रपतिको राजनीतिक सल्लाहकार बनें । राष्ट्रपतिसँग मेरो निकटताका कारण मैले महान् नेताहरू भेटें । मैले तान्जानिया र कंगोका राष्ट्रपतिहरूलाई पनि सफलतापूर्वक सल्लाह दिएँ ।’

रावलले कैयौं युरोपेली देशका प्रमुखलाई पनि सल्लाह दिएको बताएका छन् । सबै अफ्रिकी देशसँग भविष्य हेर्ने आफ्नै तरिका भएपनि हिन्दू ज्योतिषमा विश्वास र सटीक भविष्यवाणीले आफूलाई नेताहरूमाझ लोकप्रिय बनाएको रावलको भनाइ छ ।

रावलको आत्मकथाको प्रस्तावना केन्याका बहालवाला राष्ट्रपति उहूरु केन्यात्ताले लेखेका हुन् र उनी रावललाई आफ्नो साथी मान्छन् ।